लोड हुँदैछ...

मेनु

स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा ३ जनाको टोली शनिबार जेनेभा प्रस्थान गर्ने

स्वास्थ्यमन्त्री निशा मेहताको नेतृत्वमा ३ जनाको टोली शनिबार जेनेभा प्रस्थान गर्ने

विराटनगर । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सर्वोच्च नीति–निर्माण तह ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले यस वर्ष उपाध्यक्षको जिम्मेवारी सम्हाल्दैछ। आगामी २०८३ जेठ ३ देखि १० गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा हुने यस महासभामा नेपालले उपाध्यक्षको भूमिका निर्वाह गर्दै विश्व स्वास्थ्य कूटनीतिमा आफ्नो प्रभाव विस्तार गर्ने भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको नेतृत्वमा ३ जनाको टोली शनिबार (भोली) जेनेभा प्रस्थान गर्न लागेको छ । नेपाली प्रतिनिधिमण्डलले यस मञ्चमा नेपालको तर्फबाट नेतृत्वदायी प्रस्तुति दिनेछ।

अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागिता जनाउने क्रममा विगतमा ठूलो सङ्ख्यामा प्रतिनिधिमण्डल पठाउने ‘जम्बो टोली’को प्रवृत्ति रहँदै आएकोमा, यस पटक सरकारले त्यसमा सुधार गर्दै छरितो र विज्ञहरू सम्मिलित टोली मात्र पठाउने निर्णय गरेको मन्त्री महतोको सचिवालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयको विवरणअनुसार ९ सदस्यीय प्रतिनिधिमण्डलमध्ये नेपालबाट मन्त्री मेहतासहित तीन जना मात्र उच्चपदस्थ अधिकारीहरू जेनेभा प्रस्थान गर्नेछन्। बाँकी ६ जना सदस्यहरू जेनेभास्थित नेपालको स्थायी नियोगबाटै सहभागी हुने व्यवस्था मिलाइएको छ। अनावश्यक भ्रमण भत्ता र हवाई भाडा जस्ता प्रशासनिक खर्च कटौती गर्दै, विदेशस्थित कूटनीतिक नियोगको जनशक्तिलाई अधिकतम उपयोग गर्ने सरकारको यो कदमलाई राष्ट्रिय स्तरमा एक स्वागतयोग्य र मितव्ययी अभ्यासका रूपमा लिइएको छ।

यसले न्यून लागत र प्रभावकारी जनशक्ति व्यवस्थापनको नमुना प्रस्तुत गरेको सचिवालयको दाबी छ। नेपालबाट प्रस्थान गर्ने अधिकारीहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी मन्त्री निशा मेहता, सोही मन्त्रालयकी सहसचिव यशोदा अर्याल र सहसचिव डा. रोशन न्यौपाने रहेका छन् ।

महासभामा जेनेभास्थित स्थायी नियोगबाट भने राजदूत तथा स्थायी प्रतिनिधि राम प्रसाद सुवेदी, उप–स्थायी प्रतिनिधि–मन्त्री डमरु बल्लभ पौडेल, काउन्सिलर सुवाङ पराजुली, प्रथम सचिव कृष्ण सिलवाल, रोनल राई र द्वितीय सचिव सुजन लामिछानेले सहभागीता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।