लोड हुँदैछ...

मेनु

महालेखाको प्रतिवेदन सारांश

कोशी प्रदेशको बेरुजु ५ अर्ब ६३ करोड नाघ्यो, खर्च गर्ने क्षमतामा पहिलो

कोशी प्रदेशको बेरुजु ५ अर्ब ६३ करोड नाघ्यो, खर्च गर्ने क्षमतामा पहिलो

विराटनगर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०-८१ को (६३औँ) वार्षिक प्रतिवेदनअनुसार कोशी प्रदेशको बेरुजुको ग्राफ बढ्दो क्रममा देखिएको छ । प्रतिवेदनअनुसार कोशी प्रदेशको कुल बेरुजु ५ अर्ब ६३ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०-८१ मा मात्रै कोशी प्रदेशमा ५८ करोड ६६ लाख ८३ हजार रुपैयाँ नयाँ बेरुजु थपिएको छ । कोशी प्रदेशका २०४ वटा सरकारी कार्यालयहरूको ५२ अर्ब ३८ करोड ४९ लाख रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजु प्रतिशत १.१२ देखिएको छ ।

गत वर्षसम्मको बाँकी बेरुजु ५ अर्ब ४० करोड ५ लाख रुपैयाँ थियो । यस वर्ष केही सम्परीक्षण र समायोजन भए पनि नयाँ बेरुजु थपिएपछि कोशी प्रदेशको कुल अद्यावधिक बेरुजु ५ अर्ब ६३ करोड ५ लाख ३९ हजार रुपैयाँ पुगेको हो । यो बेरुजु रकममध्ये ३ करोड ११ लाख रुपैयाँभन्दा बढी पेस्की बाँकी रहेको देखिन्छ ।

कोशी प्रदेशले बजेट कार्यान्वयन र खर्च गर्ने क्षमतामा भने अन्य प्रदेशहरूलाई उछिनेको छ । सातै प्रदेशको औसत खर्च ७१.३२ प्रतिशत रहँदा कोशी प्रदेशले सबैभन्दा बढी ७९.८९ प्रतिशत बजेट खर्च गरेको छ । गएको आर्थिक वर्षमा कोशी प्रदेशको कुल बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको थियो । जसमध्ये कूल खर्च २८ अर्ब १८ करोड २९ लाख रुपैयाँ भएको छ । जसमा चालू खर्च १४ अर्ब ३५ करोड ९५ लाख रुपैयाँ र पुँजीगत खर्च १३ अर्ब ८२ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

कोशी प्रदेशले राजस्व संकलन पनि सन्तोषजनक नै गरेको छ । प्रदेशले कर राजस्व, गैर–कर राजस्व र बाँडफाँटबाट प्राप्त हुने राजस्व गरी कुल १ अर्ब ७३ करोड ८० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १ अर्ब ६० करोड २६ लाख रुपैयाँ अर्थात् ९२.२१ प्रतिशत संकलन गर्न सफल भएको हो । यो राजस्व संकलन प्रतिशत सातै प्रदेशमध्ये सबैभन्दा बढी हो ।

कोशी प्रदेशको अर्को सकारात्मक पक्ष आन्तरिक स्रोतको परिचालन देखिएको छ । प्रदेशले गरेको कुल खर्चमध्ये ५९.८६ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाटै बेहोरिएको छ । कुल २८ अर्ब १८ करोड खर्च गर्दा १६ अर्ब ८७ करोड रुपैयाँ आन्तरिक स्रोतबाट जुटाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

कोशी प्रदेशले संघीय सरकारबाट विभिन्न चार शीर्षकमा ठुलो रकम अनुदान प्राप्त गरेको छ । जसमा वित्तीय समानीकरण अनुदान ८ अर्ब २० करोड ६३ लाख रुपैयाँ, सशर्त अनुदान ३ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ, विशेष अनुदान ९४ करोड १७ लाख रुपैयाँ र समपूरक अनुदान ६४ करोड १२ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।