लोड हुँदैछ...

मेनु

स्वास्थ्य मन्त्रालयको मनोमानी : कोशीको क्षारसूत्र तालिममा ‘पहुँचवाला’ को रजगज

स्वास्थ्य मन्त्रालयको मनोमानी : कोशीको क्षारसूत्र तालिममा ‘पहुँचवाला’ को रजगज

विराटनगर । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले प्राविधिक आवश्यकता र कार्यसम्पादनलाई लत्याउँदै पहुँचका आधारमा ‘क्षारसूत्र शल्यक्रिया’ (पायल्स) सम्बन्धी तालिमका लागि प्रशिक्षार्थी छनोट गरेपछि विवाद उत्पन्न भएको छ ।

सेवा प्रवाह भइरहेका जिल्लाका अनुभवी चिकित्सकलाई पन्छाएर मन्त्रालयले आफ्ना निकटस्थ र पहुँचवालालाई काठमाडौँ पठाएपछि आयुर्वेद चिकित्सकहरूले मन्त्रालयको मनोमानीविरुद्ध असन्तुष्टि जनाएका छन् ।

काठमाडौँस्थित नरदेवी आयुर्वेद चिकित्सालयमा वैशाख २१ देखि ४२ दिने ‘क्षारसूत्र शल्य चिकित्सा’ तालिम सुरु भएको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर, झापाको आयोजनामा करिब ८ लाख रुपैयाँ लागतमा सञ्चालित सो तालिममा सहभागी हुन मन्त्रालयले आफ्ना सूचना अधिकारीसहित चार जनालाई छनोट गरेको हो ।

तालिममा सहभागी हुनेहरूमा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. केनन राई, जिल्ला आयुर्वेद अस्पताल धनकुटाकी डा. विद्या श्रेष्ठ, पाँचथरका डा. दिलीप यादव र तेह्रथुमका डा. विनय हुमागाईं छन् । अचम्मको कुरा के छ भने, यी तीनवटै जिल्ला धनकुटा, पाँचथर र तेह्रथुममा हाल क्षारसूत्र विधिबाट गरिने उपचार सेवा नै उपलब्ध छैन ।

मन्त्रालयको यो निर्णयले हाल कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सुनसरी र भोजपुर जस्ता जिल्लाका चिकित्सकहरूलाई निराश बनाएको छ, जहाँ यो सेवा विगतदेखि नै सञ्चालनमा छ । ती जिल्लामा सेवा दिइरहेका चिकित्सकका लागि तालिमबापत जनही ३ लाख रुपैयाँ बजेट विनियोजन गरिए पनि उनीहरूलाई उपेक्षा गरिएको छ ।

‘जहाँ सेवा भइरहेको छ, त्यहाँका चिकित्सकलाई तालिम दिएर थप दक्ष बनाउनुपर्नेमा मन्त्रालयले उल्टो बाटो रोजेको छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक आयुर्वेद चिकित्सकले भने, ‘पूर्वाधार नै नभएका ठाउँका व्यक्तिलाई पहुँचका भरमा छनोट गर्नु मन्त्रालयको सरासर मनोमानी हो । यसले आसेपासेलाई पोस्ने काम मात्र गरेको छ, सरकारी लगानीको सदुपयोग भएको छैन ।’

यता, मन्त्रालयका सूचना अधिकारी डा. केनन राईले भने आफूहरूको छनोटलाई स्वभाविक सीप विकासको प्रक्रिया भएको दाबी गरेका छन् । ‘तालिमपछि यी जिल्लामा पनि सेवा विस्तार गर्ने योजना छ,’ उनले भने, ‘क्षारसूत्रका लागि ठुलो संरचना चाहिँदैन, सामान्य माइनर ओटी सेटअपमा पनि यो सेवा दिन सकिन्छ ।’ उनले बाँकी चिकित्सकले अर्को चरणमा पालो पाउने आश्वासन समेत दिए ।

यता, तालिम आयोजक संस्था प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरका प्रमुख डा. रवीन्द्र निरौलाले भने आफूहरूले मन्त्रालयको निर्देशन मात्र पालना गरेको बताएका छन् । ‘मन्त्रालयले जसको नाम छनोट गरेर पठायो, हामीले उहाँहरूलाई नै तालिममा सहभागी गराएका हौँ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।