काठमाडौँ । दोलखा उद्योग वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा सम्मिलित गठबन्धनको प्यानलै विजयी भएको छ । अन्तिम मतगणनाको नतिजा अनुसार नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गठबन्धनलाई हराउँदै सनत थापाको नेतृत्वमा रहेको प्यानल निर्वाचित भएको हो ।
निर्वाचनको नतिजा अनुसार अध्यक्ष पदमा ४६२ मत प्राप्त गरी सनत थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दिनेश पाठकले ३५९ मत प्राप्त गरे ।
त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण श्रेष्ठ, उपाध्यक्षमा विवेककुमार खत्री, महिला उपाध्यक्षमा कल्पना श्रेष्ठ, महासचिवमा सुरेश उप्रेती र सचिवमा अनिल रिजाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा रामशरण बस्नेत विजयी भएका छन् ।
व्यवसायीहरूको विशुद्ध निर्वाचन भए पनि यसपटक राजनीतिक दलहरूले खुलेआम आफ्ना उम्मेदवारको पक्षमा प्रचार प्रसार गरेका थिए । विजयी सनत थापाको प्यानललाई कांग्रेस र नेकपाको समर्थन रहेको थियो । पराजित दिनेश पाठक नेतृत्वको प्यानललाई एमाले र रास्वपाले साथ दिएका थिए । अध्यक्षका उम्मेदवार पाठक एमालेनिकट भए पनि उनी रास्वपाका जिल्ला सभापतिका व्यावसायिक साझेदार समेत हुन् ।
शैक्षिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा दलीयकरणको विपक्षमा उभिने बताएको रास्वपाले दोलखामा भने दलीय गठबन्धनको अभ्यासलाई निरन्तरता दिएको छ । यसअघि गौरीशंकर बहुमुखी क्याम्पसको सञ्चालक समितिमा ४ दलको भागबण्डामा सहभागी भएर २ सदस्य लिएको रास्वपाले यसपटक उद्योग वाणिज्य संघको निर्वाचनमा पनि एमालेसँग गठबन्धन गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।