लोड हुँदैछ...

मेनु

प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

प्रधानमन्त्रीको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई ९हर्क साम्पाङ० ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै सांसद राईले प्रधानमन्त्री शाह संसदीय अभ्यासमा गैरजिम्मेवार देखिएको र संसदको अपमान गरेको आरोप लगाउँदै पदत्याग गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री शाहले संसदीय मर्यादा र परम्पराको उल्लंघन गरेको विभिन्न बुँदाहरू उल्लेख गरिएको छ । सांसद राईका अनुसार, जेठ २८ गते राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री शाह सभा छोडेर बाहिरिएका थिए । त्यस्तै, जेठ ३० गते सदनमा भइरहेको छलफलका क्रममा समेत उनी उपस्थित नभएको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले नजिकैको कार्यालयमा बसेर संसदको गतिविधि ‘लाइभ’ हेरे पनि सदनमा उपस्थित भएर जवाफ दिन नआएको भन्दै राईले आपत्ति जनाएका छन् । सांसद राईले प्रधानमन्त्रीका यी कार्यहरूलाई संसदीय परम्पराको बेवास्ता र ‘संसदीय अभ्यासको इतिहासमा कालो धब्बा’ को संज्ञा दिएका छन् ।

‘जनताको सार्वभौम सदनलाई अपमान गरेर त्यही संसदबाट चुनिएका प्रधानमन्त्री कुन नैतिकताको आधारमा कुर्सीमा बसिरहेका छन् ?’ विज्ञप्तिमा प्रश्न गरिएको छ, ‘कर्तव्य पूरा गर्न नसक्नेले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।

यसैगरी, वर्तमान सरकार संसदलाई छलेर अध्यादेशको बाटोबाट हिँड्न खोजेको र न्यूनतम जिम्मेवारी समेत पूरा गर्न नसकेको दाबी सांसद राईले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।