विराटनगर । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको समस्या समाधान गर्न एउटा अनौठो जुक्ति निकालेको छ । नगर प्रमुख अर्जुन माबोहाङले आगामी जेष्ठ १ र २ गते नगरपालिकाको सीमाबाट बाँदर लखेटी कटाउने अभियान घोषणा गर्दै जेष्ठ १ गते शुक्रबारका दिन नगरभरि सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । बाँदरको आतंकका कारण कृषि उपज सखाप हुने मात्र नभई बाली जोगाउनकै लागि बालबालिकाहरू विद्यालय जान नपाउने दुःखद अवस्था सिर्जना भएपछि नगरपालिकाले यस्तो अभियान सुरु गरेको हो ।
नगरपालिकाको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत बजेटमा समेत बाँदरबाट हुने क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरेको छ । यसैअन्तर्गत वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६ र ८ को संगमस्थल नागेश्वरी र वडा नं. ५ को सिद्धथापा पुच्छारमा अस्थायी संरचनासहित बाँदर हेरालुहरू समेत खटाइएको छ । जेष्ठ १ र २ गते सञ्चालन हुने यस अभियानमा ठूलो संख्यामा जनपरिचालन आवश्यक पर्ने भएकाले नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने गरी सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।
नगर प्रमुख माबोहाङले एक सुचना जारी गर्दै यस अभियानमा कृषक, जनप्रतिनिधि, सबै तहका कर्मचारी र आम नागरिकहरूलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गरेका छन् । वडाले तोकेको स्थान र समयमा उपस्थित भई सामूहिक रूपमा बाँदरलाई लखेटेर नगरपालिकाको सिमाना कटाउने लक्ष्य राखेको उनले बताएका छन् । स्थानीयस्तरमा बाँदर आतंकले राष्ट्रिय समस्याको रूप लिएपछि नगरपालिकाले जनपरिचालन गरेरै यसको समाधान खोज्ने प्रयास गरेको यो घटना अहिले निकै चर्चाको विषय बनेको छ । चालु आर्थीक वर्षका लागि नगरपालिकाले ३ लाख बजेट बादर आकत नियन्त्रण गर्नका लागि विनियाजन गरेको थियो । प्रमुख प्रशासकिय अधिकृत रविन कार्कीका अनुसार अहिलेसम्म उक्त बजेट भने खर्च भएको छैन् । बादर धपाउन तिन जना हेरालो समेत राखिएको कार्कीले बताए । ‘धपाउने कार्यक्रममा हाम्रो बजेट खर्च हुँदैन्,’ उनले भने ‘हामीले केहि ग्याटिसहरु मात्रै खरिद गरीदन्छौ । दैनिक ज्यालादारीमा कर्मचारी राखिएको हो । ’ हेरालुका लागि तिन स्थानमा अस्थानीय टहरा समेत बनाइएको छ । हेरालुले काम गरेको नगरेको अनुगमन वडा कार्यालयले गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । हेरालो राखेपछि बालि जोगियो भनेर स्गथानीयले भनेपछि वडाले त्यहि अनुसारको सिफारीस गर्छ प्रमुख प्रशासकिय अधिकृत कार्कीले भने ‘जोगियो भन्ने सिफारीस आउयो भने हामी कर्मचारीलाई निरन्तरता दिन्र्छाै । यहि महिना देखि राखिएको हो । ’





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।