विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयका प्रभावशाली सदस्य रवि खनालले आज अचानक पद त्याग गरेका छन् । उनले जनसम्पर्क सल्लाहकारको महत्त्वपूर्ण जिम्मेवारी एकाएक त्यागेपछि कोशी प्रदेश सरकार र कर्मचारीतन्त्र बिचको द्वन्द्व सतहमा आएको छ ।
खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू जिम्मेवारीबाट अलग भएको सार्वजनिक गरे पनि उनको राजीनामाको अन्तर्य भने कर्मचारी प्रशासनको चरम असहयोगसँग जोडिएको पाइएको छ ।
मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार, खनालको बहिर्गमनको मुख्य कारण प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलको कार्यशैली र कर्मचारीतन्त्रले सचिवालयलाई गर्ने उपेक्षा हो । पछिल्लो समय प्रदेशका कर्मचारीहरूले मुख्यमन्त्रीको सचिवालयका निर्देशन र सुझावहरूलाई पूर्णतः बेवास्ता गर्ने गरेको र पाइला–पाइलामा अवरोध र असहयोग गर्ने गर्ने गरेको बुझिएको छ ।
सुरुवाती दिनमा कर्मचारी प्रशासनलाई गतिशील बनाउन सचिवालयले सक्रिय भूमिका खेलेको थियो, तर पछिल्लो समय कर्मचारीहरूले राजनीतिक नेतृत्वलाई गन्नै छाडेका छन्, कर्मचारी स्रोतले भन्यो, ‘विशेषगरी प्रमुख सचिव पौडेलले मुख्यमन्त्रीको सचिवालय मात्र होइन, कतिपय अवस्थामा मुख्यमन्त्रीकै कुरा समेत नसुन्ने र आफ्नै ढिपी लाद्ने प्रवृत्ति देखाएपछि खनालले काम गर्ने वातावरण नभएको महसुस गरी पदबाट राजीनामा गर्नुभएको हो ।”
स्रोतका अनुसार प्रमुख सचिव पौडेलको कार्यशैलीका कारण अन्य सचिवहरू समेत रुष्ट छन् । ‘उहाँले न त अन्य सचिवहरूको कुरा सुन्नुहुन्छ, न मुख्यमन्त्रीको सचिवालयलाई टेर्नुहुन्छ । उहाँको व्यवहार एउटा स्वायत्त शासकको जस्तो देखिन्छ, जसले गर्दा सरकारको डेलिभरीमा गम्भीर असर परेको छ,’ स्रोतले भन्यो ।
आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहँदा मुख्यमन्त्रीले अति नै विश्वास गरेको जनसम्पर्क सल्लाहकार पदबाट बाहिरिनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । कोशी प्रदेशमा बजेटपछि मुख्यमन्त्री कार्कीले पनि राजीनामा दिन सक्ने चर्चा चलिरहेका बेला खनालको बहिर्गमनले सरकार परिवर्तनको पूर्वसंकेत त होइन भन्ने आशङ्का गर्नेहरूलाई बल पुगेको छ ।
विवादको मूल चुरो प्रशासनिक काम र केही आयोजनाहरूको व्यवस्थापनमा देखिएको भए पनि कर्मचारीतन्त्रले सचिवालयलाई बाइपास गरेर अघि बढ्न खोज्दा खनालले अपमानित महसुस गरेको उनी निकटस्थहरू बताउँछन् । विशेष गरी ठूला प्रशासनिक निर्णय र बजेट निर्माणका प्राथमिकताहरूमा कर्मचारीतन्त्रले राजनीतिक सल्लाहकारहरूको सुझावलाई रद्दीको टोकरीमा फालिदिने गरेको गुनासो सचिवालयको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुइँटेलले भने खनालको राजीनामालाई सामान्य प्रक्रियाका रूपमा टिप्पणी गरेका छन् । उनले भने, ‘घरायसी कामका कारणले गर्दा उहाँले नभ्याउने भएको भन्नेसम्म मलाई जानकारी छ । तर घरायसी त्यस्तो के काम हो भन्ने चाहिँ मलाई थाहा छैन । उहाँ विदेश वा अन्यत्र जान लागेकोले चाहिँ छोड्नुभएको होइन होला । त्यो भन्दा अरु कुरा त मलाई थाहा छैन, मसँग यस विषयमा थप सल्लाह पनि भएको छैन ।’
प्रशासनिक स्रोतले भने लुइँटेलको दाबीलाई फेस सेभिङ मात्र भनेको छ । सचिवालयभित्रै कर्मचारीहरूको घेराबन्दी र प्रमुख सचिवको दम्भका कारणले काम गर्ने ठाउँ नै नरहेपछि खनाल बाध्य भएर बाहिरिएका हुन् ।
फेसबुकमा सालीनता, भित्र आक्रोश
खनालले फेसबुकमा लेखेको स्टाटस सालीन देखिए पनि त्यसभित्रको सन्देश गम्भीर छ । उनले लेखेका छन्, ‘मुख्यमन्त्रीज्यूको जनसम्पर्क सल्लाहकारका रूपमा सुम्पिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै यस भूमिकाबाट अलग भएको छु’ उनले मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गरे पनि कर्मचारीतन्त्रको असहयोगका कारण कतिपय योजनाहरू अधुरै रहेको र जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकेकोमा उनी असन्तुष्ट रहेको बुझिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।