विराटनगर । नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी ढंगले पार्टी सञ्चालन गरेको भन्दै इतर पक्षले कोशी प्रदेशस्तरीय भेला तथा छलफल सुरु गरेको छ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् संस्थापन पक्षले प्रदेश भेला तथा प्रशिक्षणहरू गरिरहेका बेला, महाधिवेशनपछि जिम्मेवारीविहीन बनाइएका नेता तथा कार्यकर्ताहरूलाई समेटेर इतर पक्षले विराटनगरमा छुट्टै भेला आयोजना गरेको हो।
कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले पार्टीभित्र हुर्किएको कब्जाको शैलीको भण्डाफोर गर्दै पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा सघन छलफल भइरहेको बताएका छन्।
महामन्त्री राईले सभापति गगन थापा पक्षले पार्टीलाई आफ्नो नियन्त्रणमा मात्र राख्न खोजेको आरोप लगाएका छन्। ‘यो विशेष गरी महाधिवेशनपछि जिम्मेवारी नपाएका, पछाडि पारिएका साथीहरूको भेला हो,’ राईले भने, ‘पार्टी जुन कब्जाको शैलीले सञ्चालन भइरहेको छ, त्यसलाई चिरेर बाहिर निकाल्नुपर्छ र समग्र कांग्रेसलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने नै हाम्रो मुख्य एजेण्डा हो।’
यस भेलालाई संस्थापन इतरको मात्र नभएर पार्टीभित्र रूपान्तरण चाहने सबै पक्षको साझा मञ्च भएको दाबी गरिएको छ। राईले यसलाई विशुद्ध विशेष महाधिवेशनको विपक्षमा रहेका सबैको भेला भएको बताए । ‘यहाँ कुनै एउटा मात्र गुट छैन। यहाँ डा. शेखर कोइराला, शेरबहादुर दाईको मात्र होइन, पूर्णबहादुर खड्का दाइ र डा. शशांक कोइराला दाइलाई मान्ने नेताहरूको पनि उपस्थिति छ,’ राईले स्पष्ट पारे। संस्थापन पक्षकै कतिपय नेताहरूसमेत नेतृत्वको पेलाइमा परेका कारण यो भेलामा सहभागी भएको उनको संकेत थियो।
विराटनगरमा आयोजित यस भेलामा कोशी प्रदेशका प्रभावशाली नेताहरूको सहभागिता रहेको छ। महामन्त्री राईका अनुसार छलफलमा केन्द्रीय सदस्यहरू, पूर्वमन्त्रीहरू र प्रदेशका शीर्ष नेताहरू उपस्थित छन्।
छलफलमा नेताहरु कृष्ण सिटौला र मीन विश्वकर्मा, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेशका मन्त्री भीम पराजुली, केन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा, सीता खतिवडाका साथै सुनिता गच्छदार, सुनिता गुरुङ, भोला राजवंशी लगायतका नेताहरूको सहभागिता रहेको छ।
भेलामा मुख्यगरी दुईवटा विषयमा गम्भीर छलफल भइरहेको छ। पहिलो— पार्टीलाई रूपान्तरण गर्दै कसरी बलियो र जनमुखी बनाउने भन्ने रणनीतिक विषय। दोस्रो— नेपाली कांग्रेसको तल्लो तहको संगठन निर्माणको आधार मानिने क्रियाशील सदस्यताको वितरण र नवीकरणको विषय पनि छलफलमा रहेको राईले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।