काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रम कर्मकाण्डी र यथास्थितिवादी भएको बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोपसमेत लगाए।
प्रचण्डले हतारमा ल्याइएको नीति तथा कार्यक्रमले सत्तारुढ दलको घोषणापत्र र राष्ट्रिय संकल्पपत्रको स्पिरिट समात्न नसकेको बताए। मधेशी जनताको सपनाको जगमा बनेको सरकार नीति तथा कार्यक्रममा मधेशप्रति पूर्ण रुपमा मौन रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
सत्तारुढ दलका सभापति रवि लामिछानेले दलित समुदायमाथि राज्यका तर्फबाट क्षमा मागे पनि त्यो सरकारको नीति तथा कार्यक्रममा कतै प्रकट नभएको उनले बताए। ‘सरकार दलित समुदायका सवालमा विगतका यथास्थितिवादी सरकारहरूभन्दा पनि प्रतिगामी बन्न पुगेको छ,’ दलित विकास प्राधिकरण, रैथाने सीपको प्रवर्द्धन र विशेषाधिकार नीतिलाई सम्बोधन नगरिएको तर्फ लक्षित गर्दै प्रचण्डले भने।
सम्बोधनका क्रममा उनले सरकारले संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद् छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने गरेको भन्दै कडा आलोचना गरे। ट्रेड युनियनलाई आधुनिक लोकतन्त्रको मुख्य आत्मा भन्दै उनले लामो संघर्षबाट प्राप्त अधिकार खोस्ने दिशामा अघि नबढ्न चेतावनी दिए।
यसैगरी, अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनपछि बनेको सरकारले नै मिडियालाई कमजोर बनाउने र आलोचनाकै आधारमा पत्रकार तथा युट्युबरलाई पक्राउ गर्ने अभ्यास गरिरहेकोप्रति उनले आपत्ति जनाए। सम्पत्ति विवरणबारे उठेका प्रश्नको पारदर्शी जवाफ दिनुको साटो ढाकछोप गरिएको भन्दै उनले प्रश्नहरूबाट भागेर नभई जवाफ दिएर मात्रै लोकतन्त्रको विकास हुने कुरामा जोड दिए।
‘पुराना दल र नेता सबै उस्तै हुन्’ भन्ने भाष्य निर्माण गरेर नयाँ भनिएका दलहरूले पनि अहिले संसद् छल्ने, स्वेच्छाचारिता देखाउने र लोकतान्त्रिक मूल्यमा आघात पुर्याउने काम गरिरहेको प्रचण्डले बताए।
विगतमा सुशासन, ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण र ठूला माफियाविरुद्धको कारबाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आफूले प्रधानमन्त्री र विपक्षी दलको नेताका रुपमा दह्रो सहकार्य गरेको स्मरण गर्दै उनले ‘सबै पुराना उस्तै हुन्’ भन्ने भाष्य दार्शनिक र राजनीतिक दृष्टिले गलत भएको दाबी गरे।
‘सवाल पुराना र नयाँको होइन, सवाल सही र गलतको हो,’ उनले भने, ‘पुराना र नयाँ भाष्यले परिवार, समाज र राजनीतिमा विभाजन ल्याउँछ, तर सही र गलतको बहसले गति र रुपान्तरणसहितको नयाँ एकताको आधार खडा गर्दछ।’ सानो संख्यामा रहेर पनि आफूहरुले दुईतिहाइको कुशासन र विकृतिविरुद्ध लडिरहने उनले स्पष्ट पारे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।