विराटनगर । नेकपा (एमाले) मोरङले भूमिहीन सुकुम्बासीहरूलाई विकल्पबिना उठिबास लगाउन खोजेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्न अन्य दलको पनि साथ खोजेको छ । मोरङको लक्ष्मिमार्गमा शनिवार बसेको जिल्ला कमिटीको बैठकले सुकुम्बासी समस्याका सम्बन्धमा सरकारको वर्तमान कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै अन्य राजनीतिक दलहरूसँगको सहकार्यमा दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
एमाले मोरङका सचिव सोमराज थापाका अनुसार बैठकमा १७ वटै पालिकाको रिपोर्टिङ र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । बैठकको मुख्य एजेन्डा सुकुम्बासी समस्या र उनीहरूको व्यवस्थापनमा देखिएको सरकारी उदासीनता रहेको थियो ।
‘वर्तमान सरकारले सुकुम्बासीहरूलाई उचित विकल्प नदिई विस्थापित गर्न खोजेको छ, जुन न्यायोचित छैन,’ सचिव थापाले भने, ‘सरकारको यो रबैयाविरुद्ध हामीले सबै लोकतान्त्रिक पार्टीहरूसँग आन्तरिक सहकार्य गरेर एउटा साझा मोर्चा बनाउने र दबाबमूलक कार्यक्रमहरू अगाडि बढाउने निष्कर्ष निकालेका छौँ ।’
सबै दलसँग छलफल पछि आन्दोलनका कार्यक्रम घोष्णा गरीने एमाले मोरङले जनाएको छ । बैठकमा गत निर्वाचनमा पार्टीले व्यहोरेको हारको विषयमा पनि समीक्षा भएको छ । समीक्षाका क्रममा पार्टी नेतृत्वले हारको जिम्मेवारी लिनुपर्ने आवाज उठेको छ ।
सचिव थापाका अनुसार जिल्लाका विभिन्न पालिकाबाट आएका रिपोर्टिङमा पार्टीभित्र लोकतान्त्रिक अभ्यासको कमी भएको, नेतृत्व सत्ता केन्द्रित भएको र हिजोका कतिपय विसंगतिहरूका कारण चुनावमा पराजय भोग्नुपरेको निष्कर्ष निकालिएको छ । कार्यकर्ताहरूले अब नेतृत्व परिवर्तन गरेर अघि बढ्नुपर्ने र पार्टीलाई नयाँ ढंगले पुनर्गठित गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकले जेठ ३ गते मदन–आश्रित स्मृति दिवस भव्य रूपमा मनाउने र पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिने निर्णय समेत गरेको सचिव थापाले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।