लोड हुँदैछ...

मेनु

मोरङका प्रहरी र उनीहरूका परिवारको निःशुल्क आँखा परीक्षण 

मोरङका प्रहरी र उनीहरूका परिवारको निःशुल्क आँखा परीक्षण 

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी र उनीहरूका आश्रित परिवारका लागि निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ ।

नेपाल औषधि व्यवसायी संघ मोरङको आयोजना तथा विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोगमा आइतबार कार्यालय परिसरमै शिविर सञ्चालन गरिएको हो ।

शिविरमा प्रहरी अधिकृत, जवान र उनीहरूका परिवारको आँखा जाँच गरिएको थियो । परीक्षणका क्रममा प्रहरी कर्मचारीहरूमा मुख्यगरी आँखा सुक्खा हुने, मासु पलाएको, एलर्जी र नजिकको दृष्टि (प्रेसबायोपिया) सम्बन्धी समस्या देखिएको विराट रानी आँखा अस्पतालका प्रशासन प्रमुख रामकुमार पण्डितले जानकारी दिए ।

सुरक्षाकर्मीहरू अहोरात्र कार्यक्षेत्रमा खटिनुपर्ने भएकाले उनीहरूको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर कार्यस्थलमै शिविर आयोजना गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए ।
‘‘जनताको सेवामा निरन्तर खटिने प्रहरीलाई पायक पर्ने गरी कार्यालयमै शिविर राखेका हौं,’ नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष ढकालले भने ।

शिविरमा दृष्टि विशेषज्ञ ज्योति राजवंशी र शिवकुमार मेहतासहित ९ जनाको प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएकाहरूलाई आवश्यक औषधि र सामान्य चस्मा समेत निःशुल्क वितरण गरिएको थियो ।

सोही अवसरमा संघका तर्फबाट जिल्ला प्रहरी कार्यालयलाई एक सेट प्राथमिक उपचार सामग्री (फर्स्ट एड किट) समेत हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।