सुनसरी । नेपाल विद्युतीय प्राविधिक समूहको छैटौँ साधारण सभा शनिबार सुनसरीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं मानसरोवर इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजिका निर्देशक इन्जिनियर प्रणब भण्डारीले प्राविधिक तथा व्यावसायिक शिक्षा (TVET) लाई राष्ट्रिय आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।
साधारण सभाको उद्घाटन गर्दै इन्जिनियर भण्डारीले नेपालमा दक्ष जनशक्ति उत्पादन र श्रम बजारको मागबीच तादात्म्य मिल्न नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो । शिक्षण संस्था र उद्योगबीच प्रभावकारी समन्वय नहुँदा उत्पादित जनशक्तिले व्यावहारिक ज्ञान पाउन नसकेको उल्लेख गर्दै उहाँले ‘कार्यस्थलमा आधारित प्रशिक्षण’ र उद्योग-शिक्षा सहकार्यलाई अनिवार्य बनाउनुपर्ने जिकिर गर्नुभयो ।
“विद्यार्थीलाई कोठाभित्रको सैद्धान्तिक शिक्षामा मात्र सीमित राखेर देशले आर्थिक फड्को मार्न सक्दैन,” भण्डारीले भन्नुभयो, “अबको शिक्षा रोजगारमुखी, सीपमा आधारित र उद्योगसँग प्रत्यक्ष जोडिएको हुनुपर्छ ।” उहाँले वर्तमान समयमा तीव्र गतिमा विकास भइरहेका कृत्रिम बुद्धिमत्ता, नवीकरणीय ऊर्जा, विद्युतीय प्रविधि र डिजिटल प्रणालीअनुसार प्राविधिकहरूले आफ्नो सीपलाई निरन्तर अद्यावधिक गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्राविधिक शिक्षाले बेरोजगारी न्यूनीकरण र स्वरोजगार सिर्जनामा खेल्ने भूमिकाबारे चर्चा गर्दै उहाँले अनुसन्धान, नवप्रवर्तन र हरित सीप (Green Skills) मा लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि प्रयोगशाला व्यवस्थापन र प्रशिक्षकहरूको क्षमता विकासमा राज्य र निजी क्षेत्र दुवै गम्भीर हुनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष उमेश पोखरेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राविधिकहरूको व्यावसायिक हकहित र क्षमता अभिवृद्धिमा संस्था सधैँ प्रतिबद्ध रहने बताउनुभयो । उहाँले आगामी दिनमा प्राविधिक जनशक्तिलाई एकीकृत गर्दै सेवामूलक अभियानलाई थप प्रभावकारी बनाउने सङ्कल्प व्यक्त गर्नुभयो ।
सो अवसरमा विभिन्न विधाका तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै संस्थाको विकासमा योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
“एकता, ज्ञान, सीप र सेवा हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित सभामा विभिन्न जिल्लाका प्राविधिक, प्रशिक्षक, उद्योगी तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको उद्देश्य र सहभागीताबारे संस्थाका सचिव वीरबहादुर लामाले प्रकाश पार्नुभएको थियो । सभाले प्राविधिक क्षेत्रको विकास र आधुनिक सीप प्रवर्द्धनका लागि ठोस कार्ययोजनासमेत पारित गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।