पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–स्थित यासोक बजार अहिले ध्वजापताकाले सिङ्गारिएको छ । धान नाच, च्याब्रुङको धुन र पालामको गुञ्जनले बजार उत्सवमय बनेको छ ।
तीन वर्षमा एकपटक लाग्ने ऐतिहासिक त्रिसाली मेला सुरु भएसँगै देश–विदेशबाट आएका हजारौँ भक्तजन र दर्शकको भीड लागेको छ । बुधबारदेखि सुरु भएको मेलामा धान नाच, सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता तथा बालबालिकाका लागि मिनी मेलासमेत सञ्चालन गरिएको छ ।
यासोक बजारमा हरेक तीन वर्षमा आयोजना हुने भएकाले यसलाई ‘त्रिसाली मेला’ भनिन्छ । त्रिसाली पूजा तथा मेलाको मुख्य आकर्षण कुम्मायक र कुस्सायक माङहिममा गरिने पूजा अर्चना हो । लिम्बू समुदायले आस्था गर्ने युमा माङले अन्तिम पटक कुम्मायकमा साक्षात् दर्शन दिएको जनविश्वास रहिआएको स्थानीय लालबहादुर सम्बाहाम्फे बताउँछन् ।
कुम्मायक–कुस्सायक क्षेत्र विकास संस्थाका सचिव समेत रहेका सम्बाहाम्फेका अनुसार लिम्बू भाषामा ‘तङ’ भनेको वर्ष र ‘सुम’ भनेको तीन भएकाले यस मेलालाई ‘तङसुम तङनाम’ पनि भनिन्छ ।
किंवदन्तीअनुसार नवौँ शताब्दीका राजा उवाहाङले इलामको चेम्फोजोङलाई राजधानी बनाएर राज्य विस्तार गर्ने क्रममा युमा माङसँग शक्ति मागेका थिए । राज्य विस्तारमा सफल भएपछि उनी पुनः कुम्मायक फर्केर परेवा उडाई उत्सव मनाएको विश्वास गरिन्छ । त्यसैको सम्झनामा त्रिसाली मेला लाग्ने परम्परा बसेको जनश्रुति छ ।
तीन दिने यो वर्षको मेलामा नेपालका विभिन्न जिल्लासहित भारत, भुटान, म्यानमार र बेलायतबाट समेत भक्तजन तथा पर्यटक सहभागी भएको मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए । कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीका अनुसार गाउँपालिका स्थापना हुनुअघि स्थानीय भद्रभलाद्मी भेला भएर मेला र पूजा व्यवस्थापन गर्ने चलन थियो । अहिले भने गाउँपालिकाले मेला सञ्चालनमा सहजीकरण गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।