विराटनगर । डिग्री क्याम्पस, विराटनगरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु्) ले विद्यार्थी राजनीति र संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी संकेतप्रति गम्भीर आपत्ति जनाएको छ। हालै प्रधानमन्त्रीले विद्यार्थी संगठनहरू ‘स्लिपर सेल बनेको र दलीय राजनीतिकरणले शैक्षिक क्षेत्र बिग्रिएको भनी दिएको अभिव्यक्तिले विद्यार्थीहरूको संवैधानिक र लोकतान्त्रिक अधिकारमाथि प्रहार गरेको स्ववियुको ठहर छ।
स्ववियुद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको संविधान २०७२ ले प्रदान गरेको संघ संस्था खोल्ने स्वतन्त्रता र मौलिक हकअन्तर्गत विद्यार्थीहरू संगठित हुन पाउने अधिकार सुरक्षित रहेको स्मरण गराइएको छ। राजनीति स्वयंमा समस्या नभई यसभित्रका केही विकृतिहरू मात्र समस्या भएको तर्क गर्दै स्ववियुले समाधानका नाममा संगठन नै निषेध गर्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने जनाएको छ। राजनीति केवल कक्षाकोठामा पढेर नभई स्वतन्त्र र संस्थागत अभ्यासमार्फत सिकिने भन्दै विश्वभर विद्यार्थी संगठनहरू नेतृत्व विकास र शैक्षिक सुधारका संवाहकका रूपमा स्थापित रहेको विज्ञप्तिमा उल्लेख छ।
आफ्नो सकारात्मक भूमिकाको उदाहरण प्रस्तुत गर्दै स्ववियुले डिग्री क्याम्पसमा एलएलवि कार्यक्रम सुरु गराउन आफूहरूले सक्रिय पहल गरेको जनाएको छ।
संगठित विद्यार्थी शक्ति सही दिशामा परिचालन हुँदा शैक्षिक अवसरको विस्तार र सुधार सम्भव हुने स्ववियुको निष्कर्ष छ। सरकारलाई प्रतिबन्धको बाटो त्यागेर सुधार, पारदर्शिता र संस्थागत संवादको मार्ग अपनाउन आग्रह गर्दै स्ववियुले विश्वविद्यालयका अनियमितता हटाउन सहकार्य गर्न तयार रहेको स्पष्ट पारेको छ। साथै, विद्यार्थीहरूलाई समस्याको रूपमा नभई समाधानको हिस्साका रूपमा हेर्न र एकीकृत एवं उत्तरदायी विद्यार्थी निकायको आवश्यकतालाई स्वीकार गर्न सरकारसँग माग गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।