लोड हुँदैछ...

मेनु

सरकारी सूचनापछि च्यासलबाट एमाले मुख्यालय सर्ने

सरकारी सूचनापछि च्यासलबाट एमाले मुख्यालय सर्ने

काठमाडौँ । नेकपा (एमाले) ले ललितपुरको च्यासलस्थित आफ्नो केन्द्रीय कार्यालय हटाउने तयारी थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकार प्राप्त सरकारी जग्गा र त्यसमा बनेका संरचना खाली गर्न सूचना जारी गरेपछि एमालेले कार्यालय सार्न लागेको हो ।

तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको नाममा रहेको उक्त जग्गा एमालेले पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो । सरकारले हालै भोगाधिकार सम्बन्धी जग्गाको व्यवस्थापन गर्ने निर्णय गर्दै संरचना खाली गर्न निर्देशन दिएपछि एमालेमाथि कार्यालय सार्नुपर्ने कानुनी दबाब परेको हो ।

एमाले सचिव पद्मा अर्यालले पार्टी कार्यालय सार्नका लागि उपयुक्त स्थानको खोजी भइरहेको जानकारी दिइन् । सरकारी सूचनाका साथै भौगोलिक कारणले पनि कार्यालय सार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा २०५८ चैतमा मन्त्रिपरिषद्‌बाट स्वीकृत गराएर १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गा भोगचलन गर्दै आएको छ । तर, उक्त जग्गालाई हालसम्म ‘लिज’ (भाडा) मा परिणत गरिएको छैन । सरकारले भोगाधिकार पाएका संस्थाहरूले नियमअनुसार लिजमा नगए जग्गा फिर्ता लिने प्रक्रिया अघि बढाएपछि एमालेको केन्द्रीय कार्यालय रहेको यो स्थान खाली गर्नुपर्ने भएको हो ।

सरकारी निर्देशनका कारणले एमालेले अबको केही समयभित्रै नयाँ स्थानमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।