विराटनगर । नेपाल प्रहरी कोशी प्रदेश कार्यालय को आयोजनामा तथा नेपाल नेत्र ज्योति संघ अन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पताल को प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी, उनका परिवार तथा पूर्व प्रहरीका लागि मंगलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा कुल २९९ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ११२ जनामा दृष्टिदोष पहिचान भएको छ भने २६० जनालाई औषधि वितरण गरिएको थियो। साथै ६४ जनालाई चश्मासहित निःशुल्क सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।
नेपाल प्रहरी अस्पताल र नेपाल नेत्र ज्योति संघबीच देशभरका बहालवाला तथा पूर्व प्रहरी, उनका आश्रित परिवार तथा सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित सातै प्रदेशमा सेवा विस्तार गर्ने सम्झौता भएको थियो। सोहीअनुसार कार्यक्रमको सुरुवात कोशी प्रदेशबाट गरिएको हो।
कार्यक्रमको उद्घाटन विनोद घिमिरे र भरत चन्द ले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्म नारायण चौधरी ले शिविर सफल बनाउन सहयोग गर्ने चिकित्सक तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरे।
सो अवसरमा संघका कार्यकारी निर्देशक डा. शैलेष मिश्र ले यस्ता शिविरले आँखा सम्बन्धी समस्या समयमै पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा अस्पतालका प्रबन्धक कुमार पृथु सहित प्राविधिक टोलीको सहभागिता रहेको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।