इलाम । मेची राजमार्गअन्तर्गत राजदुवाली–माईखोला भञ्ज्याङ खण्डमा वर्षौंदेखि दोहोरिँदै आएको सडक समस्या फेरि चर्किएको छ।
शनिबार इलाम आउने क्रममा प्रतिनिधि सभा सदस्य निस्कल राई पनि सवारी जाममा परेका छन् ।
निरन्तर वर्षा, हिलो र कमजोर सडक संरचनाका कारण करिब ३ किलोमिटर क्षेत्रमा सवारी जाम हुँदा यात्रुहरूले घण्टौँ सास्ती व्यहोर्नुपरेको थियो। विशेषगरी माईखोला भञ्ज्याङ क्षेत्रमा बारम्बार पहिरो झर्ने, सडक भासिने र हिलो हुने समस्या पुरानै भए पनि समाधान हुन सकेको छैन।
स्थानीयका अनुसार वर्षायाम सुरु भएसँगै समस्या झनै जटिल बन्दै जाने गरेको छ। दैनिक सवारी सञ्चालनमा अवरोध हुँदा यात्रु, व्यवसायी तथा आपतकालीन सेवासमेत प्रभावित हुने गरेका छन्। सामान्य वर्षामै सडक हिलोमय बन्ने र सवारी चिप्लिने जोखिम बढ्ने गरेको स्थानीयवासीको गुनासो छ।
जाममा परेपछि सांसद राईले समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीसँगको छलफलमा पनि यो विषय उठाइसकेको जानकारी दिए। दीर्घकालीन समाधान आवश्यक रहेको उल्लेख गर्दै उनले छिट्टै निकास निकाल्ने अपेक्षा व्यक्त गरे।
सो सडक खण्डमा सुधारका कामहरू भइरहेको भएपनि दिगो समाधान देखिएको छैन। निर्माण ढिलाइ, प्राविधिक कमजोरी र भू–संरचनात्मक जटिलताका कारण समस्या यथावत रहेको सरोकारवालाहरू बताउँछन्।
विज्ञहरूका अनुसार यस खण्डको स्थायी समाधानका लागि वैज्ञानिक ढङ्गले सडक निर्माण, पर्खाल तथा नाला व्यवस्थापन र प्रभावकारी पहिरो नियन्त्रण आवश्यक छ। सम्बन्धित निकायले समयमै पहल नगरे आगामी वर्षायाममा समस्या अझै गम्भीर बन्ने चेतावनी दिइएको छ।
पूर्वी नेपालको महत्वपूर्ण जीवनरेखा मानिने मेची राजमार्गको यो खण्ड सुधार गर्न राज्यले प्राथमिकताका साथ ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।