इलाम । मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा पुल मर्मत तथा पहिरो नियन्त्रणका कामलाई तीव्रता दिन एक सातासम्म दिनको समयमा सडक बन्द गरिने भएको छ।
सडक डिभिजन इलाम र जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै वैशाख २३ देखि ३० गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सवारी आवागमन रोकिने जनाएको छ।
गत असोजमा पहिरोका कारण क्षतिग्रस्त बनेको राजदुवालीस्थित पुरानो स्टिल ट्रस पुल मर्मतसँगै सो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो भागका कडा चट्टान काट्ने काम गरिन लागिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलद्वारा हस्ताक्षरित सूचनामा मर्मतका क्रममा हुनसक्ने जोखिम न्यूनीकरणका लागि राजमार्ग आंशिक रूपमा बन्द गर्नुपरेको उल्लेख छ। सडक डिभिजनको अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त अवधिमा राजदुवाली खण्डमा यातायात सञ्चालन रोकिनेछ।
प्रशासनले बन्द अवधिमा मेची कोरिडोर (गोलाखर्क–बेलासे) वा सिमलगोलाई–तिल्केनी सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ। साथै बाघखोर खण्डबाट हासपोखरी–होपेनचोक सडकमार्फत साना सवारी साधन सञ्चालन गर्न सकिने जनाइएको छ।
निर्माण कार्य सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सडक बन्द गर्नुपरेको भन्दै प्रशासनले यात्रु तथा सवारी चालकलाई असहज नमान्न आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।