इटहरी । कोशी प्रदेशमा ट्राफिक प्रहरीले वैशाख १ देखि १७ गतेसम्म सञ्चालन गरेको विशेष अभियानपछि सडक अनुशासन कायम भएको दावी गरेको छ ।
सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ हजार ९०१ सवारी साधनलाई कारबाही गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्ध कडा निगरानी गर्दै ६०२ चालकलाई कारबाही गरिएको छ। यसबाट ३ लाख १७ हजार रुपैयाँ जरिवानासमेत असुल गरिएको छ।
झापा, ओखलढुङ्गा र खोटाङमा गरिएको लागू पदार्थ सेवन परीक्षणमा ९५ चालक जाँच गर्दा ५ जना पोजिटिभ भेटिएका छन्। उनीहरूलाई थप कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।
ओभरलोड नियन्त्रणतर्फ १७० सवारी साधनलाई कारबाही गर्दै ३ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ। थप ११ सवारी साधनलाई यातायात व्यवस्था कार्यालय पठाई ४८ हजार जरिवाना गरिएको छ।
ध्वनि प्रदूषण नियन्त्रणअन्तर्गत २१ मोटरसाइकलको साइलेंसर परिवर्तन गराइएको छ भने १ हजार १२८ प्रेसर हर्न हटाइएको छ। साथै ९७५ अटो, ट्याम्पो र सिटी सफारी जाँच गर्दा ३७४ सवारी साधनलाई मर्मत–सुधार गर्न निर्देशन दिइएको छ।
यात्रुवाहक सवारीमा भाडादर सूची, आरक्षण सिट र सुरक्षित यात्राको सुनिश्चितताका लागि गरिएको अनुगमनमा बढी भाडा असुल्ने तथा नियम उल्लङ्घन गर्ने १४ सवारी साधनलाई कारबाही गरिएको छ। यससँगै ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरेको जनाएको छ।
साइकल चालक लक्षित अभियान, ट्र्याक्टर तथा टिपर चालकलाई त्रिपाल प्रयोग गर्न र ओभरलोड नगर्न आग्रह, दुई पाङ्ग्रे चालकलाई सुरक्षित ड्राइभिङ तालिम तथा स्कुल बस चालक–सहचालकलाई ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। यस्तै, ई–रिक्सा चालकलाई सुरक्षित सञ्चालन, गति नियन्त्रण र यात्रु सुरक्षाबारे प्रशिक्षण दिइएको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरिले चालकहरूलाई जिम्मेवार र अनुशासित ढङ्गले सवारी चलाउन आग्रह गरेका छन्। दुर्घटना न्यूनीकरणका लागि ब्ल्याक स्पट पहिचान, ओभरलोड नियन्त्रण तथा प्रदूषण व्यवस्थापन विषयमा सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।