लोड हुँदैछ...

मेनु

झापामा पैनी अतिक्रमण हटाउँदा भएको झडपमा एक घाइते

झापामा पैनी अतिक्रमण हटाउँदा भएको झडपमा एक घाइते

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ स्थित श्रीहरि टोलमा सार्वजनिक पैनी अतिक्रमण हटाउने क्रममा स्थानीयवासी र नगरपालिकाबीच तनाव उत्पन्न भएको छ।

नगरपालिकाले पैनी कायम गर्ने उद्देश्यले सञ्चालन गरेको अभियान विवादका कारण केहीबेर अवरोध भएको थियो।

स्थानीय कृष्ण दाहालले करिब ५०० मिटर लामो पैनी मासेर जोतभोग गर्दै आएको सूचनाका आधारमा नगरपालिकाको टोली डोजरसहित पुगेको थियो । नगरले डोजर प्रयोग गरी अतिक्रमित क्षेत्र खाली गराउन थालेपछि दाहालसहित करिब ३०–३५ जना स्थानीयवासीले विरोध जनाउँदै अवरोध गरेका थिए।

सुरक्षाकर्मीको सहयोगमा नगरपालिकाले दिउँसो करिब १२ बजे पैनी कायम गर्ने काम सम्पन्न गरेको जनाएको छ। टोली फर्किएलगत्तै केही स्थानीयले निजी डोजर प्रयोग गरी पुनः पैनी पुरेका छन्।

पुनः पैनी पुरिने क्रममा विवाद चर्किँदा झडपको अवस्था सिर्जना भएको थियो। सो क्रममा स्थानीय ६० वर्षीय नन्दकुमार उप्रेती सामान्य घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र स्थानीय स्तरमै उपचार गरिएको जनाइएको छ।

नगरपालिकाले सार्वजनिक संरचना संरक्षणमा अवरोध नगर्न आग्रह गर्दै अतिक्रमणविरुद्धको अभियानलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीले भने आफूहरूले प्रयोग गर्दै आएको जमिनमा नगरपालिकाले एकपक्षीय हस्तक्षेप गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।