काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले आफ्नो कार्यकालमा राज्यका अतिरिक्त सेवा–सुविधा नलिने र कुनै पनि अनुचित कार्यमा संलग्न नहुने घोषणा गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले पदमा रहँदा आफूले ‘नगर्ने’ १० कामको सूची सार्वजनिक गर्दै सुशासनको प्रतिबद्धता जनाएकी हुन् ।
मन्त्री बादीले मन्त्रीका रूपमा प्राप्त हुने सरकारी निवास ९क्वार्टर०, घरभाडा र कूटनीतिक राहदानी ९रातो पासपोर्ट० नलिने घोषणा गरेकी छन् । राज्यको स्रोत–साधनको दुरुपयोग नगर्ने उद्देश्यले आफूले यस्तो निर्णय लिएको उनले स्पष्ट पारेकी छन् ।
सार्वजनिक गरिएको १० बुँदे प्रतिबद्धतामा उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित भएर कुनै पनि सरुवा–बढुवा नगर्ने बताएकी छन् । शक्तिको दुरुपयोग नगर्ने र कानुनविपरीत हुने कुनै पनि भनसुनलाई स्थान नदिने अडान पनि उनले राखेकी छन् ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने उल्लेख गर्दै मन्त्री बादीले भनेकी छन्, ूमैले कुनै पनि प्रकारको कमिसन वा घुस लिने छैन र यस्ता क्रियाकलापविरुद्ध सशक्त रूपमा उभिनेछु ।ू उनले लागूऔषध, ठगी र तस्करीजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट बचाउन वा संरक्षण गर्न कुनै पनि पहल नगर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
यस्तै, मन्त्री बादीले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसा तथा अन्यायका विषयमा कुनै पनि प्रकारको सम्झौता नगर्ने दृढता व्यक्त गरेकी छन् । आफ्नो कार्यकाललाई पूर्ण रूपमा पारदर्शी र जवाफदेही बनाउने उनको संकल्प छ ।
समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी बादीले मन्त्री पदको जिम्मेवारी सम्हालेलगत्तै सार्वजनिक गरेको यो स्व–घोषणालाई राजनीतिक वृत्तमा नैतिकता र सुशासनको सकारात्मक प्रयासका रूपमा हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।