लोड हुँदैछ...

मेनु

नेकपाद्वारा प्रदेश इन्चार्जहरूको टुङ्गो, कोशी इन्चार्जमा राजेन्द्र राई

नेकपाद्वारा प्रदेश इन्चार्जहरूको टुङ्गो, कोशी इन्चार्जमा राजेन्द्र राई

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय संयोजन समितिको बैठकले पार्टीको आगामी महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्नुका साथै केही प्रदेशका इन्चार्जहरूको जिम्मेवारी समेत बाँडफाँट गरेको छ ।

बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ११ देखि १५ गतेसम्म पार्टीको महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन् । महाधिवेशनलाई लक्षित गरी तय गरिएको कार्यतालिका अनुसार जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका, वडा र जनसङ्गठनको सङ्गठन समायोजन सम्पन्न गरिनेछ ।

त्यस्तै, असार र साउन महिनामा श्रम शिविर सञ्चालन गर्ने, सदस्यता नवीकरण र विस्तार गर्ने योजना छ । तल्लो तहका अधिवेशनहरू अन्तर्गत भदौ १५ सम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । दस्ताबेज र प्रतिनिधि छनोट सम्बन्धी व्यवस्थाका लागि छुट्टै कार्यविधि बनाइने छ ।

बैठकले संविधान संशोधनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेताहरू देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन् ।

बैठकले भूगोलका सात र गैर–भूगोलका दुई गरी नौवटा प्रदेशका इन्चार्जहरूको टुङ्गो लगाएको छ । जसअनुसार कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई, मधेस इन्चार्जमा महिन्द्र राय यादव, सहइन्चार्ज मात्रिका यादव र रामकुमार भट्टराई, बागमती इन्चार्ज डा. गङ्गालाल तुलाधर, गण्डकी इन्चार्ज श्रीनाथ बराल, लुम्बिनी इन्चार्जमा चक्रपाणि खनाल, कर्णाली इन्चार्जमा चन्द्र बहादुर शाही, सुदूरपश्चिम इन्चार्जमा डा. भीम रावल, उपत्यका विशेष इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेश इन्चार्जमा याशोदा सुवेदी रहेका छन् ।

यद्यपि, मुख्य विभागहरूको कार्यविभाजनलाई लिएर शीर्ष नेताहरूबीच विवाद उत्पन्न भएको जनाइएको छ । विशेषगरी सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम र विदेश विभाग प्रमुखमा झलनाथ खनालले दाबी गरेका थिए । तर, सङ्गठन विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएपछि नेता गौतमले असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ ।

नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिन बाँकी रहेकाले बैठक भोलि फेरि बस्ने भएको छ । नेता देवेन्द्र पौडेलका अनुसार, आजको बैठकमा कुरा नटुङ्गिएकाले भोलि बस्ने बैठकले बाँकी जिम्मेवारीबारे निर्णय लिनेछ । संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले नेताहरूले उठाएका प्रश्नको सम्बोधन गर्दै कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।