विराटनगर । गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको कार्यभार सम्हाल्नुभन्दा दुई दिन अगाडि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको पाइएको छ ।
धनकुटाको चर्चित पर्यटकीय स्थल भेडेटारमा गुरुङले १९ रोपनी १५ आना जग्गा खरिद गरेको पाइएको छ । साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ (साविक कार्कीछाप ५) को जग्गा उनले किनेका हुन् । चैत १३ गते गृहमन्त्री भएका गुरुङको नाममा चैत्र ११ गते उक्त जग्गा पास भएको पाइएको छ ।
मालपोत कार्यालय धनकुटाका अनुसार कित्ता नम्बर १६७ को उक्त जग्गा मन्त्री गुरुङले जुनु लिम्बूसँग खरिद गरेका हुन् । जग्गा खरिद गर्दा गुरुङ आफैं भने उपस्थित भएका थिएनन् । उनले वारेसनामामार्फत सहयोगी पठाएर खरिद प्रक्रिया पूरा गरेको मालपोत कार्यालय धनकुटाका एक कर्मचारीले जानकारी दिए ।
लिम्बुका ससुरा कर्णबहादुर मगरले गुरुङलाई आफ्नो बुहारीको नाममा रहेको जग्गा बेचेको जानकारी दिए । यद्यपि उनले बिक्री मुल्य खुलाउन चाहेनन् । कर्णबहादुरलेले आफूहरूबीच गोप्य सहमतिमा भएको कुरा खोजी नगर्न अनुरोध गरे ।
गुरुङ धनकुटाको उक्त जग्गाको विषय सरकारलाई पेश गरेको सम्पत्ती विवरणमा उल्लेख गरेका छन् । तर, त्यसको मूल्य भने उल्लेख गरेका छैनन् । गुरुङले खरिद गरेको जग्गा भेडेटारबाट धनकुटातर्फ जाने सडकको पूर्वतर्फ रहेको बताइएको छ । उक्त जग्गा भेटेटारबाट नाम्जे जाने सडकको पनि नजिकै पर्ने बताइएको छ ।
चर्चित पर्यटकीय क्षेत्र भेडेटारबाट नजिक सो क्षेत्रमा सडक छेउको जग्गा प्रतिआना ५–५ लाख रुपैयाँमा कारोबार हुन्छ । सडक पुगेको भित्री जग्गाको मूल्य पनि प्रतिआना २ लाख पर्ने स्थानीयले बताएका छन् । सडक नभएको भिरपाखाको जग्गाको मूल्य पनि प्रतिरोपनी ५ देखि ६ लाख पर्ने स्थानीयले बताएका छन् । त्यसअनुसार उक्त जग्गाको मूल्य १ करोड भन्दा बढि पर्ने बताइन्छ ।
तर, गुरुङले जग्गा पास गर्दा भने ६ लाख ९० हजार रुपैयाँ मूल्यांकन गरेर राजश्व बुझाएका छन् । सरकारी थैली (राजस्व) प्रयोजनका लागि वडा कार्यालयले उक्त जग्गामा ‘बाटो नभएको’ भनी सिफारिस गरिदिएपछि न्यूनतम मूल्यांकनका आधारमा जग्गा पास भएको हो ।
साँगुरीगढी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष दिपक मगर, गुरुङले किनेको क्षेत्रमा प्रतिरोपनी ५ लाखका दरले कारोबार भइरहेको बताउँछन् । उनले त्यसक्षेत्रको जग्गालाई गाउँपालिकाले ‘व्यवसाय गर्न उपयुक्त रहेको’ भनेर मूल्यांकन गरेको बताए । गुरुङले खरिद गरेको १९ रोपनी १५ आना जग्गा ६ लाख ९० हजारमा कुनै हालतमा नपाइने उनले बताए । यद्यपि ठ्याक्कै कतिमा किनेको भन्ने यकिन जानकारी भने आफूलाई नभएको उनको भनाइ छ ।
साँगुरीगढी गाउँपालिकाको मूल्यांकन अनुसार सो ठाउँमा प्रतिरोपनी ५ लाख रुपैयाँ रहेको छ । मालपोत कार्यालय धनकुटाका प्रमुख कमलबहादुर थापाका अनुसार उक्त क्षेत्रमा मालपोतको मूल्यांकन भने प्रतिरोपनी १७ हजार रुपैयाँ मात्र तोकिएको छ । ‘पालिकाको मूल्यांकन र मालपोतको सरकारी मूल्यांकन फरक पर्ने भएकाले राजस्वमा यस्तो अन्तर देखिएको हो,’ प्रमुख थापाले भने ।
गृहमन्त्री गुरुङले कति मूल्यमा सो जग्गा खरिद गरेका हुन् र त्यसको स्रोत के हो भन्ने खुलेको छैन । गत भदौको जेनजी आन्दोलनपछि मात्र उनले ५० लाख रुपैयाँको शेयर खरिद गरेको खुलिसकेको छ । यस्तै विवादित व्यवसायी दिपक भट्ट संलग्न लघुवित्त कम्पनीमा उनको ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर देखिएको छ ।
गुरुङले सार्वजनिक गरेको सम्पत्ती विवरण विवादित बन्दै आएको छ । उनले गोरखामा हदबन्दी भन्दै धेरै जग्गा आफ्नो बाजेको नाममा रहेको खुलाएका छन् । सामाजिक काममा सक्रिय रहेको बताउने उनीसँग अकुत सम्पत्ती देखिएको भन्दै छानविनको माग भइरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।