विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीबाट अलग हुने घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् ।
करिब ५ महिना प्रलोपामा बिताएका किरातीले यो अवधिको अनुभवलाई ‘अमूल्य सम्पत्ति’ भनेका छन् । उनले पार्टीका साथीहरू र नेतृत्वलाई धन्यवाद दिँदै आगामी दिनमा पनि व्यक्तिगत सम्बन्ध सुमधुर रहने विश्वास व्यक्त गरेका छन् ।
पार्टी परित्याग गरे पनि उनी राजनीतिबाट भने टाढा हुने छैनन् । निकट स्रोतका अनुसार किराती अब पूर्वी नेपालमा प्रभावशाली बन्दै गएको ‘श्रम संस्कृति पार्टी’ मा आबद्ध हुने तयारीमा छन् । कोशी प्रदेशमा यो पार्टीको बढ्दो प्रभावलाई हेर्दै उनले नयाँ राजनीतिक यात्रा सुरु गर्न लागेका हुन् ।
प्रलोपामा रहँदा पनि किरातीको भूमिकालाई लिएर विवाद हुँदै आएको थियो । गत निर्वाचनमा उनले आफ्नो गृहजिल्ला भोजपुरमा प्रलोपाको उम्मेदवार नउठाएर श्रम संस्कृति पार्टीलाई सहयोग गरेका थिए । अन्य केही क्षेत्रमा पनि उनले सोही पार्टीलाई सघाएपछि प्रलोपाभित्र उनको चर्को आलोचना र विरोध भइरहेको थियो ।
पार्टीभित्रको यही असन्तुष्टि र फेरिएको राजनीतिक परिस्थितिका कारण उनले औपचारिक रूपमै बाटो छुट्ट्याएका हुन् ।
किरातीले सहिदको सपना र जनताको भरोसालाई शिरोपर गर्दै समाज रूपान्तरणको काममा लागिरहने बताएका छन् । फेसबुकमा उनले लेखेका छन्, “मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा म निरन्तर अघि बढ्नेछु ।”
उनले यसअघि नै राजीनामा बुझाए पनि बुधबार मात्रै सार्वजनिक रूपमा यसबारे मुख खोलेका हुन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।