लोड हुँदैछ...

मेनु

सुनसरीका विभिन्न स्थानमा बर्डफ्लु पुष्टि भएपछि कुखुराजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध

सुनसरीका विभिन्न स्थानमा बर्डफ्लु पुष्टि भएपछि कुखुराजन्य वस्तुको ओसारपसारमा प्रतिबन्ध

इनरुवा । सुनसरीका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा, एच फाइभ एन वन) संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले नियन्त्रणका लागि कडा कदम चालेको छ । इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिका तथा गढी गाउँपालिकालगायतका स्थानमा रहेका कुखुरा फार्महरूमा यो रोग देखिएपछि प्रशासनले वैशाख १४ गतेसम्मका लागि कुखुरा, चल्ला, अण्डा र मासुको ओसारपसारमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेका अनुसार यो रोग मानिसमा समेत सर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै बर्डफ्लु नियन्त्रण नियमावली, २०७८ बमोजिम सङ्क्रमित क्षेत्रलाई केन्द्रविन्दु मानी चार किलोमिटर क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सङ्क्रमित क्षेत्रबाट अन्यत्र र अन्य जिल्लाबाट सुनसरीभित्र कुखुरा तथा कुखुराजन्य वस्तु भित्र्याउन र बाहिर लैजान पूर्ण रूपमा रोक लगाइएको उनले जानकारी दिए ।

यसअघि गत चैत ११ गतेदेखि नै जिल्लाका विभिन्न स्थानमा सङ्क्रमण देखिएपछि प्रभावित फार्महरूमा कुखुरा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । सोमबार मात्र सुनसरीको रामधुनी नगरपालिका–६ स्थित एक पोल्ट्री फार्ममा पालिएका करिब एक लाख ५० हजार लेयर्स कुखुरामा सङ्क्रमण पुष्टि भएपछि ती कुखुरा नष्ट गरिएको छ ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा। मनोजकुमार महतोका अनुसार इटहरी–१९ स्थित ओकेओ कृषि प्रालिमा ११ हजार २० कुखुरा र ११ हजार ३०० अण्डा नष्ट गरिएको थियो । त्यसैगरी, गढी–५ को सञ्जित कृषि फार्म, इटहरी–११ को आलम कृषि फार्म, इटहरी–१८ को रानी कृषि फार्म र इटहरी–१७ को लक्ष्मी पोल्ट्री फार्ममा पनि सङ्क्रमण देखिएका कुखुरा र अण्डा नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लावासी, कृषक र व्यवसायीलाई उच्च सतर्कता अपनाउन र रोग नियन्त्रण कार्यमा सहयोग गर्न विशेष आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।