काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र अब फोटो खिच्न र भिडियो खिच्न नपाइने भएको छ । नयाँ बनाउन लागिएको प्रतिनिधिसभा नियमावलीको मस्यौदामा बैठक कक्षभित्र फोटो, भिडियो र अडियो रेकर्डिङमा प्रतिबन्ध लगाउने व्यवस्था प्रस्ताव गरिएको हो ।
नियमावली मस्यौदा समितिले मंगलबार सभामुखलाई बुझाएको प्रतिवेदनमा बैठकमा पालना गर्नुपर्ने नियमहरूबारे उल्लेख गरिएको छ । प्रतिवेदनको नियम २० को उपनियम ‘ट’ मा भनिएको छ, ‘बैठककक्षमा फोन मौन (साइलेन्ट) अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’
यसअघिको २०७९ को नियमावलीमा बैठक कक्षभित्र फोन साइलेन्टमा राख्नुपर्ने र कुरा गर्न नहुने व्यवस्था भए पनि फोटो, अडियो र भिडियो खिच्न नपाउने भन्ने स्पष्ट उल्लेख थिएन । पछिल्लो समय बैठक कक्षभित्रैबाट फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेपछि नियमावलीमै यस्तो कडा व्यवस्था राख्न लागिएको हो ।
मस्यौदा समितिले तयार पारेको यो प्रतिवेदन अब प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । संसद्ले यसलाई पारित गरेपछि मात्रै यो नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।