लोड हुँदैछ...

मेनु

गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टद्वारा प्रहरीमा उजुरी

गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्टद्वारा प्रहरीमा उजुरी

काठमाडौँ । जेनजी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दिएको छ।

मंगलबार मुभमेन्टका प्रवक्ता विजय शाहले प्रहरी महानिरीक्षक (आईजीपी) लाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङविरुद्ध निवेदन दर्ता गराएका हुन्। उक्त निवेदनमा गृहमन्त्रीलाई तत्काल पदबाट मुक्त गरी हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरिएको छ।

मुभमेन्टले गृहमन्त्री पदमा बहाल रहेर आफ्नै विरुद्धको अनुसन्धान प्रक्रिया अघि बढाउनु ‘कन्फ्ल्क्ट अफ इन्ट्रेस्ट’ (स्वार्थको द्वन्द्व) भएको बताएको छ। ‘पदको ओहदामा रहेर आफ्नै विरुद्ध अनुसन्धान हुन सक्दैन भन्ने आधारभूत कानुनी सिद्धान्त र नेपालको प्रचलित कानुनविपरीत छ,’ निवेदनमा भनिएको छ।

मुलुकी फौजदारी संहिताको हवाला दिँदै मुभमेन्टले गम्भीर आरोप लागेका व्यक्तिले पदमा रहँदा प्रमाण नष्ट गर्न सक्ने र न्याय सम्पादनमा अवरोध पुर्‍याउन सक्ने दाबी गरेको छ। निष्पक्ष अनुसन्धानका लागि उनलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरिएको छ।

निवेदनमा गृहमन्त्री गुरुङमाथि जेनजी आन्दोलनलाई नियतवश हिंसात्मक बनाएको र आन्दोलनलाई हाइज्याकु गरेको गम्भीर आरोप लगाइएको छ। पानी वितरण गर्ने स्वयंसेवकको आवरणमा आन्दोलनलाई राज्यविहीनताको अवस्थामा पुर्‍याएको र सोही आन्दोलनको आडमा बिचौलियाहरूसँग मिलेर गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी प्रवक्ता शाहले गरेका छन्। ‘यस प्रकारको कार्यले ७६ जना सहिदहरूको बलिदान र घाइतेहरूको अपमान भएको छ,निवेदनमा उल्लेख छ।

प्रवक्ता शाहका अनुसार यो निवेदन नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम दर्ता गरिएको हो।

मुभमेन्टले उक्त निवेदनको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगलाई समेत पठाएको छ। गृहमन्त्रीमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक नगरिए आन्दोलन थप सशक्त पार्ने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।