लोड हुँदैछ...

मेनु

विश्वविद्यालय र प्रतिष्ठानका समस्या सुन्न प्रधानमन्त्री बालेनले डाके उपकुलपतिहरूको बैठक

विश्वविद्यालय र प्रतिष्ठानका समस्या सुन्न प्रधानमन्त्री बालेनले डाके उपकुलपतिहरूको बैठक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका विभिन्न विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग विशेष छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजेका लागि यो बैठक आह्वान गरिएको हो।

प्रधानमन्त्री आफू कुलपति रहने ११ वटा विश्वविद्यालय र सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूलाई छलफलमा बोलाइएको छ। बैठकमा मुख्य गरी शिक्षण संस्थाहरूमा रहेका समसामयिक समस्या, तिनका चुनौती र समाधानका उपायबारे विस्तृत विमर्श हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विशेषगरी, नीतिगत झमेला र तत्कालै सम्बोधन गर्न सकिने समस्याहरूलाई प्राथमिकतामा राखेर छलफल गरिने बताइएको छ।

बैठकमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयका उपकुलपतिहरूको उपस्थिति रहनेछ। यस्तै, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरू पनि छलफलमा सहभागी हुनेछन्।

संवादका लागि नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नेतृत्वलाई पनि बोलाइएको छ।

विश्वविद्यालयबाहेक प्रधानमन्त्री शाहले विभिन्न प्रतिष्ठानका प्रमुखहरूसँग पनि छुट्टाछुट्टै संवाद गर्ने तालिका छ। जसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुनेछन्।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्रीले संस्थागत सुधार र वर्तमान समस्याका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।