लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा एमाले र नेकपाले अझै टुङ्ग्याउन सकेनन् प्रमुख सचेतक

कोशी प्रदेशमा एमाले र नेकपाले अझै टुङ्ग्याउन सकेनन् प्रमुख सचेतक

विराटनगर । कोशी प्रदेशसभाका नेकपा (एमाले) नेकपा भित्र प्रमुख सचेतक चयनमा अन्योल देखिएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले)मा लामो समयदेखि प्रमुख सचेतकको पद रिक्त छ। तत्कालीन प्रमुख सचेतक विदुर लिङ्थेप गत पुस महिनामा आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएपछि यो महत्त्वपूर्ण जिम्मेवारी कसैले पाएको छैन।

संसदीय अभ्यासमा सांसदहरूको परिचालन र अनुशासन कायम राख्ने पावरफुल मानिने यो पद रिक्त रहँदा संसदीय कामकारबाहीमा असर परिरहेको छ। संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ पात्र चयन गर्न नसक्दा एमालेभित्रै असन्तुष्टि बढ्न थालेको छ।

एमालेका उपनेता तिलविक्रम मेन्याङ्बोले मुख्यमन्त्रीको कार्यव्यस्तता र पारिवारिक शोक (आमाको निधन)का कारण केही ढिलाइ भएको स्वीकार गरे। उनले भने, ‘अबको एक–दुई हप्ताभित्र हामी प्रमुख सचेतकको टुङ्गो लगाउनेछौँ।’

तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहितका घटकहरु मिलेर बनेको नेकपा भित्रको अवस्था झन् पेचिलो छ। हाल इन्द्रबहादुर आङ्बो संसदीय दलको नेता र गीता तिम्सिना प्रमुख सचेतकको भूमिकामा रहे पनि उनीहरूको पद ुस्थायी नभएको नेताहरूले बताएका छन्।

कोशीमा नेकपाका १७ सांसदमध्ये १३ जना माओवादीका र ४ जना एकीकृत समाजवादीका छन्। एकीकृत समाजवादीका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईका अनुसार केन्द्रले सबै प्रदेशको नेतृत्व एकै पटक टुङ्ग्याउने नीति लिएकाले कोशीमा ढिलाइ भएको हो। राईले भने, ‘हाम्रो संसदीय दलको नेता अझै टुङ्गिएको छैन, इन्द्रजी पनि अहिलेलाई अस्थायी नै हो।’

केन्द्रबाट निर्णय हुँदा यदि संसदीय दलको नेता माओवादीले पाएमा प्रमुख सचेतक पद एकीकृत समाजवादीले पाउने गरी भागबण्डाको गृहकार्य भइरहेको छ। तर, केन्द्रको मुख ताक्दा महिनौँदेखि नेतृत्वले पूर्णता पाउन सकेको छैन।

ठूला दलहरू अलमलमा रहँदा नेपाली कांग्रेस र राप्रपाले भने आफ्ना रिक्त पदहरू भरिसकेका छन्। कांग्रेसले शोभा पालुङ्वा मन्त्री बनेपछि रिक्त सचेतक पदमा मैया श्रेष्ठलाई नियुक्त गरिसकेको छ। त्यस्तै, राप्रपाले पनि भक्तिप्रसाद सिटौलाको स्थानमा प्रेम थाम्सुहाङलाई नयाँ संसदीय दलको नेता चयन गरिसकेको छ।

यो सबै किचलोबीच जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला लिम्बू भने ढुक्क छिन्। उनी आफैँ दलको नेता र आफैँ प्रमुख सचेतकको भूमिकामा छिन्, जहाँ उनलाई न पद गुम्ने डर छ, न त कसैलाई भागबण्डा गर्नुपर्ने दबाब।

अर्कोतर्फ, माओवादी र एकीकृत समाजवादी सहितका घटकहरु मिलेर नेकपा बने पनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने अझै पुरानै दलको प्रतिनिधित्वको झल्को देखिन्छ। समितिको बैठकमा नेकपाबाट गीता तिम्सिना र विद्या चाम्लिङ दुवै जना जाने गरेका छन्, जसले साविकका दुई दलको अस्तित्वलाई अझै सांकेतिक रूपमा जीवितै राखेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।