काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार निर्वाचन गर्ने गरी कार्यक्रम तय गरेको हो ।
संसदीय दलको नेता चयन प्रक्रियालाई अगाडि बढाउन कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका नछोड्न र बाहिर रहेकाहरूलाई तत्काल काठमाडौँ आउन निर्देशन दिएको छ । दलको कार्यालयले सबै सांसदहरूलाई एसएमएस पठाउँदै वैशाख ७ गतेभित्र अनिवार्य रूपमा काठमाडौँ आइपुग्न आग्रह गरेको हो ।
सांसद गीता गुरुङका अनुसार प्राप्त सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीयज्यूहरू ७ गतेभित्र आइपुग्न र उपत्यकामा रहनुभएका माननीयज्यूहरू बाहिर नजानुहुन जानकारी गराइन्छ ।’
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३८ सिटमा खुम्चिएको कांग्रेसले निर्वाचन भएको लामो समय बितिसक्दा पनि हालसम्म दलको नेता चयन गर्न सकेको छैन । यसपटक पूर्वसहमहामन्त्री भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने कांग्रेसको तयारी रहेको बुझिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।