लोड हुँदैछ...

मेनु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक : पदाधिकारी मनोनयनदेखि प्रवासबाटै मताधिकारसम्मका एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक : पदाधिकारी मनोनयनदेखि प्रवासबाटै मताधिकारसम्मका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी २०८३ वैशाख ७ गते बस्ने भएको छ । पार्टी सभापतिको निर्देशानुसार वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’मा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो । पार्टीले सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि सूचित गरेको छ ।

बैठकमा मुख्यतया पार्टीको साङ्गठनिक सुदृढीकरण, आसन्न महाधिवेशन र आगामी निर्वाचनको रणनीतिबारे महत्त्वपूर्ण छलफल हुनेछ । प्रस्तावित कार्यसूचीअनुसार बैठकमा केन्द्रीय समितिका रिक्त पदाधिकारीहरूको मनोनयन, महाधिवेशन कार्यविधिको मस्यौदा र पार्टी विधान संशोधनको विषयलाई प्रमुख एजेन्डा बनाइएको छ ।

यसैगरी, पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नवीन अभ्यास स्वरूप ‘स्थानीय तह उम्मेदवार क्लब’ गठन गर्ने र त्यसका लागि आवेदन आह्वान गर्ने विषयमा पनि निर्णय लिनेछ । त्यस्तै, प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने व्यवस्थाका लागि पहल गर्ने सम्बन्धमा पनि बैठकमा विशेष छलफल हुनेछ ।

बैठकको सुरुमा पार्टीका पछिल्ला गतिविधिहरूको ब्रिफिङ गरिनेछ भने २० जना केन्द्रीय सदस्यहरूले जनही २ मिनेटको समय लिएर आ–आफ्नो कार्यक्षेत्रको रिपोर्टिङ गर्ने कार्यसूची तय गरिएको छ । यसका अलावा केन्द्रीय सचिवालयले हालसम्म गरेका निर्णयहरूलाई यही बैठकबाट अनुमोदन गरिनेछ ।

विविध एजेन्डाअन्तर्गत विभिन्न आयोग, निकाय र पदाधिकारीबाट प्राप्त पत्राचारबारे जानकारी गराउने, विषयगत विभागहरूको योजना तयारी तथा नीति मन्थनका लागि आवश्यक निर्देशन दिने र संसदीय दलको विधान संशोधनका विषयमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds