काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज बस्दैछ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको यो बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्ने तय भएको छ ।
पार्टीको आधिकारिकता र विशेष महाधिवेशनका विषयमा सर्वोच्च अदालतको पछिल्लो फैसला आएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न खड्काले यो बैठक बोलाउनुभएको हो । सर्वोच्चको फैसलाप्रति असन्तुष्ट रहेको यो समूहले अब १५औँ महाधिवेशनको तयारीमा लाग्ने वा कुनै नयाँ रणनीति रोज्ने भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने बुझिएको छ ।रोज्ने भन्ने विषयमा ठोस निष्कर्ष निकाल्ने बुझिएको छ ।
यसअघि शनिबार नेता खड्काले आफ्नै निवासमा आफू पक्षका शीर्ष नेताहरूसँग अनौपचारिक छलफल गर्नुभएको थियो । शनिबारको छलफलमा खड्कासहित विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, , एनपी साउद, डा. प्रकाशशरण महत ,मीन विश्वकर्मा र रमेश लेखकलगायतका नेताहरू सहभागी थिए ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरिरहनुभएका खड्काले आजको बैठकबाट केन्द्रीय सदस्यहरूको राय लिई समूहको साझा धारणा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि कांग्रेसभित्रको आन्तरिक समीकरणमा नयाँ मोड आएको छ, जसका कारण खड्का समूहले आजको बैठकलाई निकै महत्त्वका साथ हेरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।