काठमाडौँ । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज (आइतबार) र भोलि (सोमबार) देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिने अभियानमार्फत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेको हो ।
स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार यस कार्यक्रमअन्तर्गत देशभरका ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने लक्ष्य राखिएको छ । यस्तै, १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ समेत खुवाइने छ ।
यस अभियानलाई सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ । अभिभावकहरूले आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्र वा तोकिएको स्थानमा लगि औषधि खुवाउन सक्नेछन् ।
चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको आँखाको ज्योति स्वास्थ्य राख्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र समग्र शारीरिक वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ । त्यस्तै, जुकाको औषधिले पेटको किरा हटाउनुका साथै बालबालिकालाई कुपोषण, रगतको कमी (एनिमिया), पेट दुख्ने र झाडापखाला जस्ता समस्याबाट बचाउन सहयोग गर्छ ।
नेपालमा भिटामिन ‘ए’ को कमी रोक्न र उपचारका लागि वि.सं. २०५० सालमा आठ जिल्लाबाट यो कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम प्रभावकारी देखिएपछि वि।सं। २०५९ देखि यसलाई देशभर लागू गरियो । यस्तै, जुका नियन्त्रणका लागि वि।सं। २०५६ मा १३ जिल्लाबाट सुरु भएको औषधि खुवाउने अभियान वि।सं। २०६७ देखि सबै जिल्लामा विस्तार गरिएको हो ।
सरकारले प्रत्येक वर्षको कात्तिक र वैशाख महिनामा यसरी नै दुई चरणमा भिटामिन ‘ए’ र जुकाको औषधि निस्शुल्क खुवाउने गर्दै आएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।