लोड हुँदैछ...

मेनु

उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना: दुई जनाको मृत्यु, एक गम्भीर घाइते

उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना: दुई जनाको मृत्यु, एक गम्भीर घाइते

उदयपुर। उदयपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा र बेलका नगरपालिका क्षेत्रका छुट्टाछुट्टै घटनामा यी दुर्घटना भएका हुन्।

पहिलो दुर्घटनामा काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ०३७५ नम्बरको ट्रकले रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बेलका नगरपालिका–६ लामिडाँडाका ४० वर्षीय गजुरमान राई गम्भीर घाइते भएका थिए।

घाइते राईलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँले जानकारी दिए। मोटरसाइकलमा पछाडि सवार उनकी बहिनी ३५ वर्षीया शान्ति राई गम्भीर घाइते भएकी छन्। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, बेलका नगरपालिका–१ आम्बासी कालिखोलामा भएको अर्को दुर्घटनामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–४ बसाहा नमुना टोलका ६० वर्षीय घलबहादुर भुजेल गम्भीर घाइते भएका थिए।

उपचारका लागि उनलाई विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उक्त दुर्घटनामा संलग्न मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।