विराटनगर– नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुक्रबारदेखि सुरु भएको छ । संघको विधानअनुसार उपत्यकाबाहिरका विभिन्न शाखा केन्द्रहरूमा पहिलो चरणको मतदान सुरु भएको हो ।
उपत्यकाबाहिर शुक्रबार र शनिबार दुई दिन मतदानको समय तोकिएको छ । कोसी प्रदेशअन्तर्गत विराटनगरस्थित एलाइट क्लबको भवनमा रहेको कोसी शाखा कार्यालयमा भएको पहिलो दिनको मतदानमा २३९ जना चिकित्सकले मतदान गरेका छन् । नेपाल चिकित्सक संघ कोसीका महासचिव डा. बालकृष्ण साहका अनुसार विराटनगर केन्द्रमा उत्साहजनक सहभागिता देखिएको छ । शनिबार साँझसम्ममा यस केन्द्रबाट ६ सयभन्दा बढी मत खस्ने अनुमान गरिएको डा. साहले जानकारी दिए ।
विराटनगरसँगै कोसी प्रदेशका अन्य केन्द्रहरू धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, झापाको दमक र बिर्तामोडमा पनि मतदान जारी छ । सबै केन्द्रहरूमा बिहान ८ देखि साँझ ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
१९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि भइरहेको यस निर्वाचनमा मुख्यगरी तीनवटा प्यानल चुनावी मैदानमा छन् । डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । कुल १९ पदका लागि तीनै समूहका गरी ५५ जना प्रतिस्पर्धामा छन् ।
तालिकाअनुसार उपत्यकाबाहिर शुक्रबार र शनिबार मतदान सकिएपछि काठमाडौं उपत्यकाभित्र भने आगामी वैशाख १७ र १८ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।