विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित रानी नाकाबाट स्रोत नखुलेको ५ लाख ११५ रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एनएन १४३८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य, अररिया जिल्ला जोगवनी–१० का ३० वर्षीय आनेशकुमार चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरीको साथबाट एक हजार दरका २०० थान, पाँच सय दरका ६०० थान, एक सय दरको १ थान, १० रुपैयाँको १ थान र पाँच रुपैयाँको १ थान नोट फेला परेको छ ।
बरामद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उक्त रकम अवैध हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बरामद भएको नगद र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित चौधरीलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि सशस्त्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।