काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलाइ अब पूर्ण रूपमा अन्त्य हुने घोषणा गरेका छन् । काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै मन्त्री तिमिल्सिनाले ट्रायल पास गरेर राजस्व बुझाएको २४ घण्टाभित्रै लाइसेन्स छापिने व्यवस्था आजैदेखि कार्यान्वयनमा आएको जानकारी दिए ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले नागरिकले ट्रायल पास गरेको लामो समयसम्म पनि लाइसेन्स नपाउने समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए । उनले भने, ‘अहिले सरकारको प्राथमिकता सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने हो । अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । राजस्व तिरेको २४ घण्टाभित्रै छपाइ प्रक्रिया सक्ने काम आजैबाट लागू भएको छ ।’
मन्त्री तिमिल्सिनाले हालसम्म छाप्न बाँकी रहेका सबै लाइसेन्सहरू आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको समेत बताए । उनले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्रता दिन केन्द्रका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले केन्द्रमा रहेका महँगा उपकरणहरू वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेकोप्रति कडा असन्तुष्टि जनाए । करिब १ अर्ब रुपैयाँ बराबरका मेसिन, जेनेरेटर र अन्य उपकरणहरू थन्किएर बस्नु राज्यको सम्पत्तिको दुरुपयोग भएको उनको भनाइ थियो ।
‘तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा आउन सक्छन् र छपाइ सम्भव हुन्छ भने विगतमा किन काम हुन सकेन ’ भन्दै उनले प्रश्न गरे । उनले केन्द्रलाई राज्यको महत्त्वपूर्ण र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै आवश्यक इच्छाशक्ति र तत्परताका साथ काम गर्न निर्देशन दिए ।
आफूले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै सुरक्षण मुद्रण केन्द्रलाई प्रभावकारी बनाउने विषय प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले अब संस्थागत जिम्मेवारी बढाएर सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।