काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्ने भएका छन् । संघीयता कार्यान्वयन र प्रदेशका समस्या समाधानका विषयमा केन्द्रित रहेर प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूलाई छलफलका लागि बोलाएका हुन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको छ । छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहनेछ ।
प्रधानमन्त्री शाहले प्रदेशस्तरमा देखिएका विद्यमान समस्या, विकास निर्माणका कार्यमा देखिएका बाधा र प्रदेश सरकारले तत्काल गर्नुपर्ने कामको प्राथमिकताका बारेमा जानकारी लिने तयारी गरेका छन् । प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि उनले प्रदेश र केन्द्रबीचको समन्वयलाई प्रभावकारी बनाउन सक्रियता देखाउँदै आएका छन् ।
यसअघि प्रधानमन्त्री शाहले सातै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूसँग छुट्टाछुट्टै चरणमा भेटघाट तथा छलफल गरिसकेका छन् । सांसदहरूसँगको छलफलपछि उनले कार्यकारी प्रमुखका रूपमा मुख्यमन्त्रीहरूसँग ठोस योजना र कार्यान्वयनको पाटोमा केन्द्रित रहेर संवाद गर्न लागेका हुन् ।
बैठकमा विशेषगरी प्रदेशलाई अधिकार सम्पन्न बनाउने, बजेट कार्यान्वयनको अवस्था र संघसँगको समन्वयका विषयमा मुख्यमन्त्रीहरूले आफ्ना धारणा राख्ने बुझिएको छ । प्रधानमन्त्री कार्यालयले यो छलफललाई प्रदेश सरकारका कामलाई थप गति दिने र संघीय सरकारको सहयोगलाई प्रभावकारी बनाउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।