विराटनगर । सरकारले सीमानाकामा ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकामा भने दृश्य अर्कै देखिन्छ । एकातिर सशस्त्र प्रहरी र भन्सार प्रशासनले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने ‘कडा’ उर्दी जारी गरेका छन्, अर्कोतिर नेपाली बजारको चरम महँगीले ढाड सेकिएका उपभोक्ताहरू सरकारले भनेको अटेरी गरेर भए पनि भारतीय बजार जोगबनीतिर ओइरिएका छन् ।
विराटनगरका बजार सुनसान बन्दै जाँदा सीमापारिको जोगबनीमा भने भिड कम छैन् । नेपाली बजार र भारतीय बजारबीचको मूल्यको खाडल । दैनिक उपभोग्य वस्तु चिनी, तेल, दालदेखि लत्ताकपडासम्ममा जोगबनी र विराटनगरबीच ठूलो अन्तर छ । लिटरमा खानेतेल नेपाली बजार भन्दा झन्डै १ सय रुपैया फरक पर्छ भने चिनि प्रति किलो ३० रुपैया फरक पर्छ ।
राजस्व चुहावट रोक्ने भन्दै गृह मन्त्रालयको निर्देशनमा मोरङ प्रशासनले नाकामा कडाइ गरेको बताए पनि कार्यान्वन भने छैन् । मोरङका स्थानीय व्यवसायीहरू आफ्नो व्यापार सुकेको भन्दै नाका ठप्प पार्नुपर्ने माग गर्छन्, तर आम उपभोक्ता भने नेपाली बजारको महँगीले गर्दा जोगबनी जानु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् ।
नाकामा भेटिएका मोरङका प्रदिप ढकालको आक्रोश सरकारी नीतितर्फ लक्षित थियो । उनले भने, ‘नेपालमा एउटा सामानको मूल्य सोध्यो भने आकास छुन्छ, उता जोगबनिमा जाँदा सस्तो पाइन्छ विदाको दिनमा त्यता जाने गरेका छौ ।’ उनले पहिला आफनो देशको मंहगी नियन्त्रण गरे मात्रै सहज उताका बजारमा जाने कम हुने बताउछन् ।
कोशी प्रदेशका सीमा नाकाहरूमा १०० रुपैयाँको सामाग्रीमा पनि भन्सार महसुल बुझाउनुपर्ने भनिए पनि व्यवहारमा त्यो लागू हुन सकेको छैन । झोलामा लुकाएर होस् वा सुरक्षाकर्मीको आँखा छलेर, घरायसी सामान ल्याउनेहरूको ताँती रोकिएको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले भने कडाइ गरीएको बताए । थोरै घरायसि सामाग्रि ल्याउने र ब्यापारीक प्रयोजका लागि सामाग्रि ल्याउने हेरेर निर्णय गर्न भन्सारलाई निर्देशन दिएको उनले बताए । सिमाका घरमा जोगबनी बजारबाट सामाग्रि ओसार पसार गर्नका लागि साना झ्याल खुल्ला गरेको पाइएकाले त्यो भने बन्द गर्न लगाइएको उनले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।