लोड हुँदैछ...

मेनु

ढिलासुस्ती

१३ करोड लागतको चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र सञ्चालन नै भएन

१३ करोड लागतको चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र सञ्चालन नै भएन

विराटनगर । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको साझेदारीमा निर्माण गरिएको ‘चिया परीक्षण, प्रवद्र्धन तथा अनुसन्धान केन्द्र’ उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि संचालन भएको छैन । करिब १६० वर्षपछि चियाको राजधानी मानिने इलामको कन्याममा निर्मित यो नेपालकै पहिलो चिया अनुसन्धन केन्द्र बनाएको भनिए पनि यसको संचालनमा भने ढिलाइ भएको हो ।

गत २०८१ मङ्सिर २७ गते कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले केन्द्रको उद्घाटन गरेका थिए । तर, उद्घाटनको रिवन काटिए पनि केन्द्रभित्रको मेसिनरी र चिया परीक्षणका उपकरणहरू भने चल्न सकेका छैनन् । यसको मुख्य भनेको पानीको अभाव हो । १३ करोड रुपैयाँभन्दा बढीको लगानीमा बनेको भव्य संरचना अहिले एउटा रित्तो प्रदर्शनी कक्षजस्तो मात्र देखिएको छ ।

परियोजनाको सुरुवात र निर्माण चरणको नेतृत्व गरेका सूर्योदय नगरपालिकाका निवर्तमान प्रमुख रणबहादुर राईले केन्द्र सञ्चालन हुन नसक्नुको मुख्य कारण पानीकै समस्या रहेको प्रष्ट पारेका छन् । ‘पहिले चाहिँ बृहत खानेपानी आयोजना भन्ने नेपाल सरकारको कार्यक्रम हामीले लिएका थियौँ । त्यो चाहिँ २०८१ मा कम्प्लिट हुनुपर्ने थियो । त्यसको पानी चाहिँ त्यहीँबाट व्यवस्थापन गर्ने भनेका थियौँ । तर त्यो आयोजना समयमा सम्पन्न नभएपछि पानी भएन नि त ! पानी नभएपछि अन्य संरचना नगरपालिकाले चलाउने कुरा भए पनि सञ्चालनमा आउन सकेन,’ राईले प्रष्ट पार्दै भने, ‘६६ करोडको पञ्चकन्या कन्याम बृहत खानेपानी आयोजना समयमा सम्पन्न नभएको हुनाले यो रोकिएको हो । अहिले ८० प्रतिशत जति काम सकिएको छ । पानी नभई चिया परीक्षणको काम कसरी अघि बढ्छ र ? ।’ राईका अनुसार नगरपालिकाले आफ्नै लगानीमा अर्को खानेपानी आयोजना पनि अघि बढाएको छ, जुन अहिले अन्तिम चरणमा पुगेको छ ।

नगरपालिकाका कार्यबहाक प्रमुख दुर्गाकुमार बरालले भने केन्द्र छिट्टै सञ्चालनमा आउने दाबी गरे । केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन भइरहेको उनको दाबी छ । ‘केन्द्र अब सञ्चालनमा जाँदैछ । सम्झौता भएर पनि अलि ढिला भएको हो, त्यहाँ पानीको असुविधा थियो, हामी निर्माण गर्दैछौं । अहिले एउटा ओभरहेड ट्याङ्की बनाउनुपर्ने भएको छ, त्यसको काम भइरहेको छ । त्यो भएपछि सुचारु हुन्छ,’ उनले भने ।

कार्यबहाक प्रमुख बरालका अनुसार केन्द्र सञ्चालनका लागि उत्तम प्रगति कन्स्ट्रक्सन प्रालि फिक्कलसँग ठेक्का सम्झौता भइसकेको छ । ‘ल्याबका लागि प्राविधिक चाहिन्छ, त्यसका लागि दुई जना प्राविधिकहरू तयार भइसकेका छन् । प्रदेश सरकारको कृषि मन्त्रालयसँग पनि समन्वय भइसकेको छ । संग्रहालयका लागि फोटो कलेक्सन लगायतका कामहरू भइरहेको छ,’ उनले भने ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले आफ्नो मन्त्रालयबाट अनुदान गएको भएपनि संचालनको जिम्मा सबै नगरपालिकाकै रहेको बताए । ‘यो प्रोमोसन सेन्टर हो, प्रवद्र्धन र डिस्प्ले गर्ने ठाउँ हो । अहिले ल्याब चलाउने कुरा भइरहेको छ । कसरी चलाउने भन्ने कुरा पालिकाकै जिम्मेवारीका कुरा हुन् । हामीले अनुदान सहयोग गरेका मात्रै हौं,’ पोखरेलले भने ।

कोशी प्रदेश सरकारको ७० प्रतिशत र सूर्योदय नगरपालिकाको ३० प्रतिशत लागतमा केन्द्र निर्माण भएको हो । कुल अनुमानित १३ करोड रुपैयाँ खर्च भएको निवर्तमान प्रमुख राईले जानकारी दिए । यो परियोजनामा होटल, अत्याधुनिक सेमिनार हल, चिया संग्रहालय, क्याफे र चिया परीक्षण गर्ने प्रयोगशाला निर्माण गरिएको छ ।

मुख्यमन्त्री हिकमत कुमार कार्कीले उद्घाटनका क्रममा यसलाई कोशी प्रदेशकै गौरवको आयोजना भएको बताएका थिए । उद्घाटन समारोहमा चियाका किसान र व्यवसायीहरूमा ठूलो उत्साह देखिएको थियो ।
नेपालमा वार्षिक रूपमा ७५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । जसबाट करिब १५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुन्छ । इलाममा उत्पादित चियाको १० प्रतिशत नेपालमा खपत हुन्छ भने ७० प्रतिशत भारत र २० प्रतिशत तेस्रो मुलुकमा निर्यात गरिन्छ ।

यो केन्द्र सञ्चालनमा आएमा किसानले उत्पादन गरेको चियाको गुणस्तर र स्वाद स्थानीय स्तरमै जाँच हुने, विश्वभरका चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ) आएर चियाको गुणस्तर जाँच गर्न सक्ने, कन्याम जस्तो पर्यटकीय स्थलमा चिया संग्रहालय र सेमिनार हलले पर्यटनमा थप टेवा पु¥याउने लगायतको अपेक्षा गरिएको छ ।

केही दिन अगाडि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपसहितले यो योजनाको अनुगमन गरेका थिए । उक्त टोलीमा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला पनि सहभागी थिए । उक्त टोलीले यसलाई ‘सार्वजनिक निजी साझेदारी’ मोडलमा सञ्चालन गर्न सुझाव दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।