इटहरी । सुनसरीमा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ भने अर्को घटनामा कारबाट थप गाँजा फेला पारेको छ।
प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका–६ पटवारीस्थित सप्तकोशी नदी क्षेत्रमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले छापा मारेको थियो।
क्रममा बाँसको झाकमुनि लुकाएर राखिएको ९ वटा बोराबाट करिब २२५ केजी गाँजा बरामद गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा बराहक्षेत्र–६ का विशेष माझी र रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गाँजा ओसारपसारमा प्रयोग गर्न लुकाइ राखिएको को ३० प ९४७५ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।
यसैबीच, अर्को घटनामा इनरुवा नगरपालिका–१० मा शंकास्पद अवस्थामा रहेको कारबाट १५ किलो ६ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। को १ च ३६११ नम्बरको कारलाई रोकेर जाँच गर्न खोज्दा चालक फरार भएको थियो।
प्रहरीले कार नियन्त्रणमा लिएर जाँच गर्दा पछाडिको डिकीमा प्लास्टिकको बोरामा प्याक गरिएको गाँजा फेला पारेको हो। घटनामा संलग्न चालक फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ ।
बरामद गाँजा र सवारी साधनलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।