लोड हुँदैछ...

मेनु

गगनको शैलीप्रति केदार कार्की असन्तुष्ट, खड्काले स्पष्टीकरण नदिने

गगनको शैलीप्रति केदार कार्की असन्तुष्ट, खड्काले स्पष्टीकरण नदिने

विराटनगर । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किँदै गएको छ। सभापति गगन थापाले पूर्णबहादुर खड्कालाई कार्वाही गर्ने तयारी गरेपछि विषेश महाधिवेशनमा गगनलाई साथ दिएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले असन्तुष्टि जनाएका छन् ।

कार्कीले विशेष महाधिवेशनमार्फत थापालाई सिङ्गो पार्टीको सभापति बनाइएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन्।

विगतका राजनीतिक संघर्ष स्मरण गर्दै पार्टीभित्र संवादको सट्टा कारबाहीको भाषा प्रयोग गर्नु ‘अतिवाद’ भएको कार्कीको भनाइ छ । कार्कीले प्रजातान्त्रिक आन्दोलनका कठिन समयहरूमा पार्टीप्रति निष्ठावान् कार्यकर्ताले खेपेका दुःख सम्झाउँदै अहिलेको नेतृत्वले उनीहरूको भावना बुझ्नुपर्ने बताएका छन्। ‘संवाद नै समाधानको उपाय हो,’ भन्दै उनले सबै पक्ष मिलेर नियमित महाधिवेशनतर्फ जानुपर्ने धारणा राखेका छन्।

पार्टी अनुशासन समितिले नक्कली लेटरहेड प्रयोग गरी अनधिकृत विज्ञप्ति जारी गरेको आरोपमा ७ दिने स्पष्टीकरण सोधेपछि खड्काले भने कुनै जवाफ नदिने बताएका छन् । उनले उक्त विषयमा प्रतिक्रिया दिँदै यस्ता कुराको पछि नलाग्न सुझाव दिएका छन्, जसले उनी स्पष्टीकरण नदिने मनस्थितिमा रहेको संकेत गर्छ।

सभापति थापाले सबै क्रियाशील सदस्यता खारेज गरी पुनः अद्यावधिक गर्न निर्देशन दिएपछि काँग्रेसको विवाद चुलिएको छ। त्यसको विरोधमा खड्काले आफूलाई कार्यवाहक सभापतिको हैसियतमा प्रस्तुत गर्दै विज्ञप्ति जारी गरेका थिए। अनुशासन समितिका संयोजक तारामान गुरुङले स्पष्टीकरण नआए थप कारबाही गरिने स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वलाई संस्थापन पक्षले अझै पूर्ण रूपमा स्वीकार नगरेको अवस्था छ। शेरबहादुर देउवा र खड्काले उक्त विषयमा सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसको सुनुवाइ नजिकिँदै छ।

पार्टीभित्र नेतृत्व, वैधानिकता र अनुशासनसम्बन्धी विवाद एकैसाथ सतहमा देखिँदा नेपाली कांग्रेसभित्रको शक्ति संघर्ष अझ तीव्र हुने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।