इलाम । इलाममा गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी–पहिरोले गरेको ठूलो विनाशबाट पीडितले अझै राहत पाएका छैनन् ।
प्राकृतिक प्रकोपका कारण सडक, पुल, घर, खेतीपाती लगायत पूर्वाधार क्षेत्रमा गरी करिब ११ अर्ब ८१ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको सरकारी तथ्यांक छ।
पहिरोले सयौं परिवारको सपना चकनाचुर बनाएको छ। बिब्ल्याँटेका मंगलबहादुर लिम्बू जस्तै धेरै स्थानीयको घर पहिरोको जोखिममा परेका छन्। निर्माणाधीन घरमाथि र तल दुबैतर्फबाट पहिरो गएपछि उनको घर बस्नै नसकिने अवस्थामा पुगेको छ।
बाढी–पहिरोमा ३९ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। ३६५ घर पूर्ण रूपमा नष्ट हुँदा ९४० घरमा आंशिक क्षति पुगेको थियो ।
सरकारले पीडितलाई पुनर्निर्माणका लागि प्रतिपरिवार साढे ४ लाख रुपैयाँ दिने घोषणा गरेपनि अहिलेसम्म अधिकांशले रकम पाउन सकेका छैनन्। अस्थायी आवासका लागि केही रकम वितरण भएपनि स्थायी पुनर्निर्माण प्रक्रिया अझै ढिलाइमा छ।
इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार बाढी प्रभावितलाई दिने भनिएको राहत रकम अझै वितरण भइसकेको छैन । ‘अहिले अस्थायी आवासका लागि रकम निकासा भएको छ,’ उनले भने, ‘स्थायी आवासका लागि राहत दिने प्रक्रिया अघि बढेको छैन ।’
पालिकाहरूले पीडितको विवरण अनलाइनमा प्रविष्ट गर्ने र राष्ट्रिय विपद् प्राधिकरणबाट स्वीकृत भएर आउने चरणमा छ । संघीय सरकारको घोषणाअनुसार साढे चार लाख रुपैयाँ तीन किस्तामा उपलब्ध हुने ढकालले बताए ।
पहिरोको कारण मेची राजमार्ग अत्यन्त जोखिमपूर्ण बनेको छ। इलाम खण्डमा मात्रै २०० भन्दा बढी स्थानमा पहिरो गएकोले त्यस क्षेत्रमा बारम्बार समस्या हुने गरेको छ। विशेषगरी राजदुवाली क्षेत्रमा पहिरोमाथि नै अस्थायी ट्र्याक बनाएर सवारी सञ्चालन भइरहेको छ, जुन अत्यन्त जोखिमपूर्ण हो ।
इन्जिनियरहरूका अनुसार जमिनभित्र जमेको पानीले माटो कमजोर बनाउँदा पहिरो झर्ने क्रम जारी छ। त्यसलाई नियन्त्रण गर्न ड्रिलिङ गरेर पानी निकाल्ने काम भइरहेको छ । तर, पूर्ण समाधानका लागि अझै वर्षौं लाग्ने अनुमान गरिएको छ।
सो खण्ड मर्मतको लागि बहुवर्षीय योजनाअन्तर्गत १ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित भएर ठेक्का आह्वान गरिएको छ । मेची राजमार्गको पहिरो नियन्त्रणका लागि चार वटा प्याकेजमा काम अघि बढेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
मुख्य राजमार्ग अवरुद्ध हुँदा इलाम जोड्ने वैकल्पिक सडकहरू पनि उत्तिकै प्रभावित छन् । दानाबारी–इलाम खण्डको बेलासेमा पुल भासिएपछि त्यस क्षेत्रको सम्पर्क विच्छेद भएको थियो । अहिले बेलासेमा बेलिब्रिज राख्नका प्रक्रिया अघि बढेको छ ।
यातायातका लागि खोलामा डाइभर्सन बनाइएको छ । तर सानो झरीमा पनि माइखोलाको बाढीले डाइभर्सनमा क्षति पुग्ने हुँदा यातायात सञ्चालनको सम्भावना कमजोर छ । दानाबारी खण्डमै सडक निर्माणको काम चलिरहेका कारण सवारी चलाउन मुस्किल छ ।
पुवा खोला र सिमलडाँडा–तिलकेनी सडकमा पनि बेलिब्रिज राख्ने प्रक्रिया अघि बढेको छ । यी बेलिब्रिजहरू भारत सरकारको अनुदानमा निर्माण हुन लागेका हुन् ।
पीडितहरूले राहत र पुनर्निर्माणको काम छिटो अगाडि बढाउन सरकारसँग माग गरिरहेका छन्। मनसुन नजिकिँदै जाँदा पुनः जोखिम बढ्ने चिन्ता स्थानीयमा बढ्दो छ।
तीन तहको सरकारबीच समन्वय नहुँदा अर्को बर्खा आउने बेलासम्म पनि पीडित परिवारले राहत नपाएका हुन् । प्रदेश सरकारले घर बनाइदिने घोषणा गरेको थियो । तर, संघीय सरकारको पुनर्निर्माण प्राधिकरणको नियममा तीन तहले मिलेर काम गर्नुपर्ने प्रावधान रहेको भन्दै प्रदेश सरकारले पनि केहि काम गरेको छैन ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।