काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका समानुपातिक सांसदहरूसँग आज (बुधबार) अन्तरक्रिया गर्दैछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त छलफल बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने तय भएको छ ।
अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आ–आफ्नो ‘क्लस्टर’ (वर्ग वा क्षेत्र) सँग सम्बन्धित विद्यमान समस्या, चुनौती र ती समस्या समाधानका लागि चाल्नुपर्ने उपायहरूका बारेमा प्रधानमन्त्रीसमक्ष आफ्ना धारणा र सुझावहरू प्रस्तुत गर्नेछन् ।
जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गर्ने र त्यसैका आधारमा नीति निर्माण तथा कार्यान्वयनको प्रक्रियालाई थप प्रभावकारी र जनमुखी बनाउने मुख्य उद्देश्यका साथ यो संवाद आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनले यसअघि नै सातै प्रदेशका भूगोलबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग चरणबद्ध रूपमा छलफल सम्पन्न गरिसकेका छन् । सोही क्रमको निरन्तरता स्वरूप आज सबै दलका समानुपातिक सांसदहरूसँग सामूहिक छलफल हुन लागेको हो । यो संवादले नीतिगत तहमा रहेका गाँठो फुकाउन र विभिन्न समुदायका आवाजलाई सरकारको कार्ययोजनामा समेट्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।