लोड हुँदैछ...

मेनु

सरकारको १८ बुँदे मस्यौदा ‘डेन्टिङ पेन्टिङ नयाँवाद’ हो: गोकुल बास्कोटा

सरकारको १८ बुँदे मस्यौदा ‘डेन्टिङ पेन्टिङ नयाँवाद’ हो: गोकुल बास्कोटा

विराटनगर । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले वर्तमान सरकारले सुझावका लागि सार्वजनिक गरेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धताको मस्यौदामाथि कडा टिप्पणी गरेका छन् । उनले सरकारको यो प्रयासलाई ‘डेन्टिङ पेन्टिङ नयाँवाद’ को संज्ञा दिँदै राजनीतिक दलहरूलाई अपजसको भारी बोकाउने ध्येयले आएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले उक्त मस्यौदालाई ‘बालेन प्रतिबद्धता’ भन्दै व्यङ्ग्यसमेत गरेका छन् । उनले यस प्रतिबद्धताले विभिन्न राजनीतिक दलका घोषणापत्रलाई मिसाएर विचारधाराको अस्तित्व नै समाप्त पार्न खोजेको आरोप लगाएका छन् ।

“६ दलकै घोषणापत्र समेट्ने र जस अपजस एकै डालोमा हालिदिने कलात्मक कुरो मन पर्यो,” नेता बास्कोटाले कटाक्ष गर्दै भनेका छन्, “समाजवादी, पुँजीवादी, नवउदारवादी हिसाब किताब नै खतम । रिसानी माफ होस्– डेन्टिङ पेन्टिङ नयाँवाद जिन्दावाद ।”

नेता बास्कोटाले यस खाकाले स्थापित राजनीतिक मूल्य र मान्यतालाई ओझेलमा पार्दै नयाँपनको मुकुण्डो मात्र लगाएको संकेत गरेका छन् । विद्वत वर्गले यसको अनेक कोणबाट विश्लेषण गरे पनि आफूले यसलाई परम्परागत शक्तिहरूमाथि दोष थोपर्ने र ‘नयाँवाद’ को जामा लगाउने रणनीतिको रूपमा बुझेको उनको तर्क छ ।

सरकारले मुलुकको संकट समाधानका लागि साझा प्रतिबद्धता जनाउन भन्दै सुझावका लागि १८ बुँदे मस्यौदा सार्वजनिक गरेको सन्दर्भमा बास्कोटाको यस्तो तिखो टिप्पणी बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।