लोड हुँदैछ...

मेनु

आदिवासी राजवंशी समुदायको ‘सिरुवा पावनी’ सुरु

आदिवासी राजवंशी समुदायको ‘सिरुवा पावनी’ सुरु

विराटनगर । पूर्वी नेपालका आदिवासी राजवंशी समुदायको प्रमुख चाड ‘सिरुवा पावनी’ आजदेखि हर्षोल्लासका साथ सुरु भएको छ।

हरेक वर्ष वैशाख १, २ र ३ गते मनाइने यो पर्व राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायको साझा उत्सवका रूपमा मनाउँछन् ।

तीन दिनसम्म चल्ने यस पर्वको पहिलो दिन ‘जल सिरुवा’, दोस्रो दिन ‘कादो सिरुवा’ र तेस्रो दिन ‘रङ सिरुवा’ का रूपमा मनाइन्छ। पहिलो दिन एक–अर्कालाई पानी छ्यापेर आत्मीयता साटासाट गर्ने प्रचलन रहेको छ भने दोस्रो दिन हिलो छ्याप्ने र अन्तिम दिन अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ।

पर्वको पहिलो दिन महिलाहरूले सात प्रकारका हरियो सागसब्जी मिसाएर ‘सात सागी’ नामक विशेष परिकार तयार पार्छन्। सोही परिकार दोस्रो दिन ‘पन्ता भात’ (बासी भात) सँग खाने परम्परा छ। यसका साथै औषधीय गुण भएको ‘अठिया केरा’ सेवन गर्नु पनि पर्वको मुख्य विशेषता मानिन्छ।

रोगव्याधिबाट जोगिने कामनासहित मनाइने यस पर्वमा सार्वजनिक स्थानमा ‘घाटोसरी’ निर्माण गरी भजन गाउने चलन छ। समुदायका मानिसहरू ग्रामथान र नदी किनारमा पूजापाठ गर्दै सांस्कृतिक कार्यक्रममार्फत उत्सव मनाउने गर्छन्।

आफ्नै भाषा, भेषभुषा र परम्परा बोकेको राजवंशी समुदायको मुख्य बसोबास झापा, मोरङ र सुनसरी जिल्लामा रहेको छ। २०७८ को जनगणनाअनुसार नेपालमा राजवंशी समुदायको जनसङ्ख्या १ लाख ३२ हजार ५६४ रहेको छ। यो पर्वले क्षेत्रीय सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।