लोड हुँदैछ...

मेनु

निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न व्यवसायीको माग

निर्माण क्षेत्रमा आपतकाल घोषणा गर्न व्यवसायीको माग

धनकुटा । निर्माण व्यवसायीहरूले अत्यधिक आर्थिक भार व्यहोर्नुपरेको भन्दै निर्माण उद्योगमै आपतकाल घोषणा गरी तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

नेपाल निर्माण व्यवसायी संघ धनकुटाले जारी गरेको विज्ञप्तिमा डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धनको पटक–पटक भएको तीव्र मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको उल्लेख गरिएको छ। संघले व्यवसायीहरूले भोगिरहेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधान खोज्न आग्रह गरेको छ।

विज्ञप्तिमा ठेक्का सम्झौताअनुसार मूल्य समायोजन नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकका आधारमा हुने भए पनि बजारमा निर्माण सामग्रीको वास्तविक मूल्य अत्यधिक बढेको जनाइएको छ। तर सूचकांकमा ती सामग्रीको मूल्य घटेको देखाइने प्रचलनका कारण व्यवसायीहरू थप संकटमा परेको संघको भनाइ छ।

संघका अनुसार इन्धनजन्य सामग्रीसँगै विटुमिन, सिमेन्ट, डन्डीलगायत निर्माण सामग्रीको मूल्यवृद्धि र बजारमा अभावका कारण काम प्रभावित भएको छ। यस्तो अवस्थाले निर्माण उद्योग नै ठप्प हुने जोखिम बढेको उनीहरूको निष्कर्ष छ।

संघका जिल्ला अध्यक्ष प्रकाशकुमार राई थुलुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकार तथा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उल्लेख गरिएको छ। साथै, क्रसर उद्योगमा देखिएको समस्याले पनि निर्माण क्षेत्र थप संकटमा परेको गुनासो गरिएको छ।

संघले निर्माण उद्योगमा देखिएको वर्तमान अवस्थालाई गम्भीर रूपमा लिएर आपतकाल घोषणा गरी व्यवसायीलाई तत्काल राहत दिनुपर्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।