विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा पछिल्लो समय लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेहरूको संख्या बढेको छ । ट्राफिक प्रहरीको अभिलेख अनुसार, पछिल्लो तीन वर्ष ९ महिना (२०७९ देखि २०८२ चैत १७ सम्म) मा ९०१ जना चालकको स्वास्थ्य परीक्षण गर्दा ३३७ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको छ । यसको बर्सेनि ग्राफ हेर्दा अवस्था झनै भयावह देखिन्छ ।
आर्थिक वर्ष २०७९/८० मा ६२ जनाको परीक्षण गर्दा २६ जना, २०८०/८१ मा १९४ जनाको जाँच गर्दा ११० जना र २०८१/८२ मा ४८० जनाको जाँच गर्दा १५२ जनामा लापसे पुष्टि भएको थियो । चालु आर्थिक वर्ष २०८२/८३ को चैत १७ गतेसम्म मात्रै १६५ जनाको जाँच गर्दा ४९ जना चालक लापसेमा परेका छन् ।
अर्कोतर्फ, २०७८ देखि हालसम्म (४ वर्ष ९ महिनामा) कोशी प्रदेशमा २१ हजार ९६ वटा सवारी दुर्घटना भएका छन्, जसमा परी २ हजार ८५ जनाले ज्यान गुमाएका छन् भने ३५ हजार २५० जना घाइते भएका छन् । यी दुर्घटनाहरूको एउटा मुख्य कारण चालकले गर्ने नशाजन्य पदार्थको सेवन पनि कारण रहेको प्रहरीको विश्लेषण छ ।
मोरङमा चालु आर्थिक वर्षमा मात्रै लागूऔषध सेवन गरेर सवारी चलाउने दुई दर्जन सवारी चालकलाई मोरङ अदालतमा लागूऔषध सेवन मुद्दा चलाएर कानुनी कारावहीको दायारमा ल्याएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए । “मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको पाइएमा हामी चालकलाई जरिवाना गर्छौं र सवारी साधन चलाउन नदिई लाइसेन्स भएका आफन्त वा अरू व्यक्तिको जिम्मा लगाउँछौँ । तर, लागूऔषध सेवन (लापसे) को हकमा भने यो प्रक्रिया निकै कडा हुन्छ । लागूऔषध सेवन गरेर सवारी चलाएको पुष्टि हुनासाथ हामी मुद्दाकै प्रक्रियामा जान्छौँ । चालु आर्थिक वर्षमा मात्रै लापसे गरी सवारी चलाउने २० जना चालकलाई लागूऔषध मुद्दामा कारबाही गरिएको छ ।”
किन बढ्दै छ लापसे ?
ट्राफिक प्रहरीले मापसेमा कडाइ गरेपछि चालकहरूले विकल्पको रूपमा लापसे रोज्न थालेको पाइएको छ । नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी प्रदेश सुनसरी इटहरीका प्रमुख एसपी दिपक गिरी भन्छन्, “मापसे त गन्ध र हाउभाउले सजिलै थाहा हुन्छ । तर लापसे गरेको गन्ध आउँदैन, परीक्षण नगरी थाहा हुँदैन । त्यसैले चालकहरूले प्रहरीलाई छल्न लागूऔषध सेवन गर्ने प्रवृत्ति बढेको पाइएको छ ।’’
प्रहरीका अनुसार धेरैजसो चालकहरूले गाँजा, प्रतिबन्धित पिल्स र कफ सिरप सेवन गर्ने गरेका छन् । विशेष गरी लामो दूरीका चालकहरूले निद्रा भगाउने बहानामा वा नशाको तलतल मेटाउन यस्तो जोखिम मोल्ने गरेका छन् ।
सेवनकर्ताहरूले लागुऔषध प्रयोग गरेको सहजै पहिचान नहुने भएका कारण पनि यो प्रवृत्ति बढेको हो । “रक्सी खाएपछि हाउभाउ र गन्धले नै थाहा हुन्छ । तर लागुपदार्थ प्रयोग गरेको गन्ध आउँदैन । परीक्षण गरेपछि मात्रै थाहा हुने कुरा हो,” एसपी गिरीले भने, “मापसेजस्तो हा….गरेर मात्रै थाहा हुने होइन यो । लापसेका लागि पिसाब जाँच गर्नुपर्छ । यसका लागि परीक्षण किटहरू चाहियो, प्रयोगशाला प्राविधिकको टोली चाहियो ।” प्रहरीले अहिले जनचेतनाका लागि नमुना स्तरमा मात्रै लापसे परीक्षण मात्रै भइरहेको छ ।
“लागुपदार्थ सेवन गरेर चलाउनु हुँदैन वा त्यस्तो चालकले चलाएको गाडीमा बस्नु हुँदैन भनेर मानिसहरू सचेत पनि होऊन् भन्ने हाम्रो उद्देश्य हो,” उनी भन्छन्, ‘‘यसरी सवारी चालउँदा आफू त जोखिममा पर्छन् नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने हुन्छ । गाडी चलाउँदा मापसे, लापसे वा अन्य कुनै पनि नशालु पदार्थ लिनुहुन्न भन्ने सन्देश पुगेर पनि यो क्रम रोकिएको छैन ।’’
लामो समयदेखि जाँच अभियान तीव्र पारिए पनि नशाको तालमा गाडी चलाउन नरोकिनु दुःखद् विषय भएको प्रहरीको भनाइ छ ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव अस्मान तामाङले लागूऔषध रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले प्रहरीसँग मिलेर काम गरिरहेको बताए । उनका अनुसार लागूऔषध नियन्त्रणका लागि विनियोजित बजेट हाल रोक्का भएको र त्यसलाई खुलाउन पहल भइरहेको छ । “हामीले रोक्का भएको बजेट फुकुवा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयमा पत्राचार गरिसकेका छौँ । बजेट प्राप्त हुनासाथ पूर्व–निर्धारित सबै कार्यक्रमहरू सञ्चालन हुनेछन् ,’’ उनले भने ।
कसरी गरिन्छ परीक्षण ?
लापसे जाँचका लागि ‘मल्टी ड्रग यूरिन टेस्ट किट’ को प्रयोग गरिन्छ । चालकलाई एउटा सानो डिब्बामा पिसाब भर्न लगाइन्छ र उक्त पिसाबलाई किटमा राखेर १० देखि १५ मिनेटभित्र नतिजा निकालिन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सन्तोष न्यौपाने भन्छन्, “किटले कुन प्रकारको लागूऔषध सेवन गरेको हो भन्ने पनि देखाउँछ । अहिले परीक्षण गर्दा सबैभन्दा बढी गाँजा सेवन र खुल्ला सीमको फाइदा उठाउँदै जोगवनी गएर पिल्स र कफ सिरप लागूऔषध सेवन गरेर सार्वजनिक यातायात चलाएको पाइएको छ ।’’ प्रहरीका अनुसार चालकले लागुपदार्थ प्रयोग गरे वा नगरेको जाँच गर्न मादक पदार्थको जस्तो छिटो हुँदैन । यसका लागि केही बेर समय लाग्न । उनका अनुसार मापसे जाँचमा जस्तो सबै चालकहरूलाई नभई शङ्का लागेका व्यक्तिहरूलाई मात्रै परीक्षण गर्ने गरिएको छ । “सबै चालकलाई परीक्षण गरेर सम्भव पनि हुँदैन । हामीले यसो हेरेर शङ्का लागेकोलाई परीक्षण गर्छौँ,” उनले भने । दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियान तिव्र बनाएको प्रहरी निरीक्षक न्यौपानेले बताए ।
यद्यपि, यो परीक्षण खर्चिलो छ । एउटा किटको मूल्य करिब ५ सय रुपैयाँ पर्छ । नेपाल औषधि व्यवसायी संघ मोरङले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत पाँच वर्षमा ५ सय थान किट प्रहरीलाई सहयोग गरेको संघका अध्यक्ष देशबन्धु ढकाल बताउँछन् । “यात्रुहरू सुरक्षित ढंगले गन्तव्यमा पुग्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’’ उनले भने ।
कानुनी कारवाही र चुनौती
मापसेमा सामान्य जरिवाना र सचेतना दिएर छोडिने भए पनि लापसेमा भने कडा कानुनी प्रावधान छ । कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद शर्माका अनुसार लापसे गरेको पुष्टि भएमा लागूऔषध सेवनको मुद्दा चलाउने गरिएको छ ।
तर, सीमित स्रोत र साधनका कारण सबै चालकको परीक्षण सम्भव छैन । कोशी प्रदेश प्रहरी कार्यालयका डिआइजी विनोद घिमिरे भन्छन्, “चालकको लापरबाही र नशा सेवन नै दुर्घटनाका मुख्य कारण हुन् । हामीले चेकजाँचलाई अझ कडा बनाउने रणनीति लिएका छौँ । यात्रुको जीवनसँग खेलबाड गर्नेलाई कुनै पनि हालतमा छोडिने छैन ।’’
लागूऔषध विरुद्धका अभियन्ता सञ्जीव चापागाईं भने राज्य र यातायात व्यवसायी दुवै जिम्मेवार बन्नुपर्ने सुझाव दिन्छन् । “अहिले मापसे भन्दा लापसेको समस्या डरलाग्दो छ । यातायात व्यवसायीले चालक नियुक्त गर्दा नै लागूऔषध सेवन नगर्ने प्रतिबद्धता गराउनु पर्छ,’’ उनी भन्छन्, ‘‘प्रहरीको सक्रियता मात्र पर्याप्त छैन, चालकको नैतिकता र यात्रुको सजगता पनि उत्तिकै जरुरी छ । अन्यथा, नशाको तालमा गुड्ने सवारीले जुनसुकै बेला सडकलाई रक्ताम्मे बनाउन सक्छ ।’’
के छ कानुनी व्यवस्था ?
नेपालको लागूऔषध नियन्त्रण ऐन, २०३३ ले लागूऔषध सेवन र यसको प्रभावमा गरिने कार्यलाई गम्भीर अपराधको रूपमा व्याख्या गरेको छ । ऐनको दफा १४ अनुसार लागूऔषध सेवन गरेर सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यस्तै, अफिम, कोकिन वा सोबाट बनेका लागूऔषध (ब्राउन सुगरसहित) सेवन गर्नेलाई दफा १४ (घ) बमोजिम १ वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ । त्यसैगरी, प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोद्विपक पदार्थ सेवन गर्नेलाई दफा १४ (झ) अनुसार दुई महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ ।
मोरङ जिल्ला अदालतमा लामो समयदेखि वकालत गर्दै आएका अधिवक्ता पेरिस सुवेदीका अनुसार अदालतमा आउने मुद्दामध्ये ठूलो हिस्सा लागूऔषधकै हुने गरेको छ । अदालतको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अधिवत्ता सुवेदीले भने, “अहिले मोरङ अदालतमा दर्ता हुने मुद्दामध्ये करिब ८० प्रतिशत मुद्दा लागूऔषधसँगै सम्बन्धित हुने गरेका छन् । उदाहरणका लागि, गत चैत २५ गते अदालतमा जम्मा ९ वटा मुद्दाको पेसी चढेर थुनछेक बहस भएको थियो । तीमध्ये ७ वटा त लागूऔषधकै मुद्दा थिए । बहसपश्चात् ६ वटा मुद्दाका अभियुक्तहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अधिवक्ता सुवेदी भन्छन् — “यसले के देखाउँछ भने समाजमा लागूऔषधको लत भयावह रूपमा फैलिरहेको छ । विशेषगरी युवा पुस्ता यसको सिकार भइरहेका छन् र उनीहरू कानुनी कठघरामा उभिनुपर्ने अवस्था बढ्दो छ ।”




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।