लोड हुँदैछ...

मेनु

बिटुमिन अभावले एशियन हाइवे विस्तारको काममा समस्या

बिटुमिन अभावले एशियन हाइवे विस्तारको काममा समस्या

विराटनगर । एशियन हाइबबे अन्तर्गत काँकडभिट्टा–लौकही सडक स्तरोन्नति आयोजना पेट्रोलियम पदार्थ र बिटुमिन अभावका कारण प्रभावित बनेको छ।

मध्यपूर्वको जारी तनावका कारण आपूर्ति घट्नुका साथै डिजेलमा लागू गरिएको कोटा प्रणालीले निर्माण कार्य सुस्ताएको निर्माण कम्पनीले जनाएको छ ।

सडकको पूर्वी खण्डमा इभ्रास्कन कालिका जेभीले स्तरोन्नतिको काम गरिरहेको छ। प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईँका अनुसार कालोपत्रे गर्ने मुख्य सिजनमै पर्याप्त बिटुमिन नपाउँदा काम प्रभावित भएको छ । कम्पनीसँग मौज्दात रहेको बिटुमिनले अधिकतम १०–१५ दिन मात्रै काम धान्ने अवस्था रहेको उनले बताए।

वर्षाअघि पहिलो लेयरको कालोपत्रे गर्न करिब २२ किलोमिटर सडकमा बेस बिछ्याएर तयारी गरिएको भएपनि आवश्यक मात्रामा बिटुमिन नहुँदा काम सुरु गर्न समस्या भएको कम्पनीकोक भनाइ छ। महँगो मूल्यमा खरिद गर्दा पनि पर्याप्त आपूर्ति नपाइएको निर्माण कम्पनीको गुनासो छ।

यस्तै, नेपाल आयल निगमले लागू गरेको डिजेल कोटा प्रणालीले निर्माण उपकरण सञ्चालनमा थप समस्या सिर्जना गरेको कम्पनीले जनाएको छ। योजना प्रमुख सीनियर डीभिजनल ईन्जिनियर सुनिलबाबु पन्तका अनुसार हाल मौज्दात बिटुमिनले सीमित क्षेत्रमा मात्र काम गर्न सकिने अवस्था छ।

पश्चिम एसियाको तनावका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा निर्माण लागतसमेत बढेको छ। निर्माण कम्पनीले बिटुमिन आयातका लागि खोलिएको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराइएको छ।

यो अवस्था जारी रहे आगामी ७ देखि १० दिनभित्र काम पूर्ण रूपमा रोकिने जोखिम रहेको निर्माण कम्पनीको भनाइ छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्म करिब ४५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । जसको अनुमानित लागत १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ रहेको छ।

आयोजना सम्पन्न भएपछि पूर्वी नेपालका औद्योगिक क्षेत्र, सीमावर्ती नाका तथा तराई जिल्लाबीच यातायात थप सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।