पाँचथर । फिदिम बजारस्थित ग्रिनभ्याली फ्रेस हाउसमा कार्यरत एक मजदुरको मृत्यु प्रकरण विवादमा तानिएको छ।
छोरा २७ वर्षीय ज्ञानेन्द्र आचार्यको मृत्यु शङ्कास्पद भएको भन्दै पिता लक्ष्मी आचार्यले फ्रेस हाउस सञ्चालक रमेश खत्रीसहित चार जनाविरुद्ध किटानी जाहेरी दिएपछि घटनाले थप मोड लिएको हो।
चैत १५ गतेदेखि हराइरहेका आचार्य चैत २२ गते आफू बस्ने घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए। त्यसपछि पिता लक्ष्मी आचार्यले रमेश खत्रीसँगै सोही फ्रेस हाउसमा काम गर्ने रोहित चेम्जोङ, सजिव थेबे र विवेक लिम्बूविरुद्ध जाहेरी दिएका छन्। जाहेरीपछि उनीहरू सबै प्रहरी नियन्त्रणमा रहेका छन्।
परिवारका अनुसार हराएको चौथो दिन मात्र फ्रेस हाउस सञ्चालकले खबर गरेको र सातौँ दिन घरभित्रै शव भेटिनुले घटना रहस्यमय देखिएको छ। लामो समयसम्म परिवारलाई जानकारी नदिइएको भन्दै उनीहरूले गम्भीर शंका व्यक्त गरेका छन्।
फ्रेस हाउस सञ्चालक पक्षले भने आचार्य हराएको केही दिनमै परिवारलाई जानकारी गराइएको दाबी गरेको छ। शव भेटिएपछि परिवार र आफन्तहरूले निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख अनिषकुमार कर्णका अनुसार जाहेरीका आधारमा फ्रेस हाउस सञ्चालकसहित चारै जनालाई पक्राउ गरिएको छ। आचार्यको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पोस्टमार्टम गरिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।